काठमाडौं । सरकारले उच्च प्राथमिकतामा राखेको राष्ट्रिय परिचयपत्र बनाउने अभियान पछिल्लो समय निकै प्रभावकारी भएको पाईएको छ ।
अघिल्लो चार बर्षमा ३८ लाखले मात्रै परिचयपत्र बनाएकोमा पछिल्लो १५ महिनामा मात्रै ७५ लाखभन्दा बढीले परिचय पत्र बनाएको तथ्याङ्कले देखाएको छ ।
देशभरी अहिलेसम्म एक करोड १० लाखभन्दा बढीले परिचयपत्र बनाउन विवरण पेश गरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । विभागका महानिर्देशक तिर्थ भट्टराईले व्यक्तिगत घटना दर्ता गर्ने र परिचयपत्र बनाउनेको सङ्ख्या पछिल्लो समय निकै बढेको जानकारी दिनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “पछिल्लो समय अनलाईनबाट व्यक्तिगत घटना दर्ता गर्नेहरुको सङ्ख्या पनि धेरै बढेको पाईएको छ, सेवाग्राहीहरु विस्तारै वानी पर्दै जानु भएको छ ।”
उहाँका अनुसार १६ बर्ष मुनिका बालबालिकाको बनाउन नमिल्ने भएकाले अरुको बाँकी विवरण संकलन कार्य एक बर्षमा सकिन्छ ।
महानिर्देशक भट्टराईले नेपालका झण्डै दुई करोड मानिसको परिचयपत्र बनाउन मिल्ने र ती मध्ये आधाको विवरण संकलन भईसकेकाले बाँकी आधाको अब एक बर्षमा सम्पन्न गर्न सकिने बताउनु भयो ।
परिचयपत्र बनाउने सेवा अहिले सबै जिल्ला प्रशासन कार्यालयमा भएपनि अभियानको रुपमा गाउँ गाउँबाट सेवा दिने कार्य भने ४५ जिल्लामा मात्रै गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार १६ जिल्लामा अहिले पनि परिचयपत्र बनाउनका लागि गाउँ गाउँमा गएर विवरण संकलन गर्ने कार्य भइरहेको छ ।
तत्कालै परिचयपत्र आवश्यक परेका व्यक्तिहरुलाई भने काठमाडौमा जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय सभा गृहबाट विषेश सेवाको व्यवस्था गरिएको पनि महानिर्देशक भट्टराईले जानकारी दिनुभयो । परिचयपत्र बनाएपछि अन्य सरकारी सेवाहरु लिन सजिलो हुने भएकाले पनि पछिल्लो समय व्यक्तिगत घटना दर्ता गर्ने र परिचयपत्र बनाउनेहरुको सङ्ख्यामा बृद्धि भएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, “व्यक्तिगत घटना दर्ता गर्ने र परिचयपत्र बनाएपछि सामाजिक सुरक्षा भत्ता लगायतका सरकारका अन्य सेवाहरुसँग जोडिन सजिलो हुन्छ, नत्र ति सेवाहरुबाट बञ्चित हुनुपर्ने अवस्था आउछ, त्यसैले अहिले धेरै नागरिक यस तर्फ आकर्षित हुनुभएको छ ।”
परिचय पत्र नबनाउदा धेरै नागरिकलाई घाटा भएका दृष्टान्त पनि उहाँले सुनाउनु भयो ।
परिचयपत्र बनाउनका लागि एक पटकमा विवरण भरेपछि सधैँका लागि हुने भएकाले एक पटकलाई झण्झट नमान्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।