काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यो सरकारले जनताले अनुभूत गर्ने गरी काम गर्ने बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएसँगै जनताले ठुलो अपेक्षा गरेको र त्यो अपेक्षा पुरा गर्ने उहाँले दाबी गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा अहिले पनि केही समस्या देखिएकोले यस क्षेत्रका विज्ञसँग छलफल गरेर अगाडि बढ्ने बताउनुभएको छ । उहाँले मन्त्रालयले मिडियाबाट सल्लाह सुझाव लिन छिट्टै एउटा कार्यक्रम सञ्चालन गर्ने पनि बताउनुभयो ।
उहाँले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन सक्दा नेपालका राजनीतिक दलहरूबीच सहमति हुन सक्दा संविधानको मर्म पनि बोक्न सक्ने बताउनुभयो । राष्ट्रपति देशको उच्च पद भएकाले यसमा साझा व्यक्तिलाई सहमति गर्न सकियो भने देशको राजनीति पनि सही ढंगले सम्हालिने बताउनुभयो । उहाँले गठबन्धनका बीचमा केही सहमति भएपनि प्रधानमन्त्री प्रचण्डले देशको एक उच्च पदलाई सबैको साझा बनाउने प्रयत्न गरिरहनुभएको बताउनुभयो । यस्तै उहाँले अहिले नै माओवादीले गठबन्धनमा दायाँ बायाँ नसोचेको पनि दाबी गर्नुभएको छ ।
शर्माले दाङ क्षेत्र नम्बर २ बाट चुनाव जित्नुभएको हो । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति सदस्य समेत रहनुभएकी शर्माले नेकपा (एमाले) का महासचिव शंकर पोख्रेललाई हराउनुभएको थियो । शर्मा २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री हुनुभएको थियो ।