काठमाडौं । जनकपुरका दुई युवकलाई अपहरण गरेर भारत लगी हत्या गरिएको छ। हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
घटना गत पुस २७ गतेको हो। जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र सोही उपमहानगरपालिका–१३ का २२ वर्षीय विष्णु साह बेपत्ता भएका थिए।
उनीहरू दुई जना भारतको सितामढीको बेलापरिहार बस्ने एक आफन्तको घरमा भोज खान भनेर गएका थिए। भोज खान भनेर गएका उनीहरू अपहरणमा परेको भन्दै भारतीय नम्बरबाट युवकका परिवारलाई फोन आएको थियो।
सुरुमा ५० लाख मागेको अपहरणकारीले विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका थिए। विष्णुको परिवार र अपहरणकारीबीच मोलमोलाइ हुँदा २० लाख फिरौती लिएर छोड्ने सहमति भएको थियो।
अपहरणमा परेको खबर प्रहरीलाई गरेपछि युवकका आफन्तहरू प्रहरीको समन्वयमा सर्लाहीको मंगलवा नाका नजिक रकम बुझाउन तयार थिए। तर गत मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोड्यो ।
आइतबार बिहान भने भारतीय प्रहरीले भारतको सितामणिमा दुई वटा शव फेला पारेको थियो। उक्त शव अपहरणमा परेका भनिएका जनकपुरका दुई युवाको रहेको पाइएपछि उनीहरूको हत्या भएको पाइएको छ।
अपहरण गरी हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको मधेश प्रदेशका डिआइजी वसन्त कुँवरले जानकारी दिनुभयो। उहाँका अनुसार अपहरण गरेकै दिन एक जनाको हत्या गरिएको पाइएको छ। त्यसको केही समयपछि अर्को व्यक्तिको पनि हत्या गरिएको पाइएको छ।
हत्या गरिसकेपछि पनि फिरौती भन्दै रकम माग गरिएको थियो। फिरौती दिने तर अपहरणमा परेका व्यक्तिसँग भिडिओ कुराकानी गराउन भनेपछि अपहरणकारी सम्पर्कविहीन भएका थिए।
अपहरणमा भारतीय पनि संलग्न रहेको र उनीहरूलाई समेत पक्राउ गरेर नेपाल ल्याई कारबाही गरिने डिआइजी कुँवरले बताउनुभयो। विष्णु र रोहित परिवारको एक्लो छोरा थिए। क्याम्पस पढ्दै गरेका विष्णुको श्रीमती र एक छोरी छन्। शव अहिले भारतको बेला परिहार पर्सास्थित प्रहरी चौकीमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ।