काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । उनीहरुमध्ये ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ४१५ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । गोरखा, पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देही, देवदेहका ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
पालुङटारका पुरुष १६ गते कतारबाट आएका थिए । पालुङटारको जीवनज्योति माविको क्वारेन्टिनमा बस्दा स्वास्थ्य बिग्रिँदै गएपछि जिल्ला अस्पतालको आइसोलेनमा भर्ना गरिएको थियो । उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भयो ।
उनको २० असारको दिन विहान ५ बजेर ५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।
यस्तै, देवहदका पुरुष क्षयरोगको उपचारका लागि १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको १७ गते निधन भयो । त्यसको भोलिपल्ट उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।