काठमाडौं । शंकास्पद रुपमा रकम भित्र्याइएको आरोप लागेका पृथ्वीबहादुर शाहले हालसम्म ६५ करोड रकम नेपालमा भित्र्याएको प्रहरीको दाबी रहेको छ ।
अछाम घर भएका ३५ वर्षीय शाहको स्वामित्वमा रहेको भनिएको विभिन्न कम्पनी र उनको व्यक्तिगत बैंक खातामा विदेशबाट ६५ करोड रुपैयाँ आएको भेटिएको हो । नेपालको बैंक खातामा शंकास्पद रूपमा भित्रिएको सो रकम मध्ये आधा भन्दा धेरै रकम शाहले निकालेका छन् ।
पुस २२ मा ब्युरोले शाहसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा शाहसहित उनका सहोदर भाई विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्माङ्गद काफ्ले र रंगबहादुर साउँद छन् । पृथ्वी र उनको समूहले अमेरिकामा ठगी गरेर सो रकम नेपाल भित्र्याएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
अनलाइन मार्फत अमेरिकनको कम्यूटरमा पहुँच बनाएर रकम ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
शाहले ठगी गरेर अहिलेसम्म ४६ लाख डलर, ३ करोड नेपाली र १२ हजार पाउन्ड स्टर्लिङ गरी कुल ६५ करोड नेपालमा भित्र्याएका छन् ।
ब्युरोले गरेको प्रारम्भिक अनुसन्धानबाट शाहले ४४ जना अमेरिकन नागरिकलाई ठगेर नेपालमा पैसा भित्र्याएको खुलेको छ । ३ जना पीडितले प्रहरीमा जाहेरी दिएको ब्युरोले जनाएको छ ।