काठमाडौँ – विश्वका जनस्वास्थ्य वैज्ञानिकहरुले कोरोना भाइरसको संक्रमणबाट बच्न मास्कको सही प्रयोग अति आवश्यक रहेको बताइरहँदा नेपालमा पनि मास्कका प्रयोगकर्ता बढेका छन्, तर मास्कको सही प्रयोग हुन नसक्दा जोखिम घट्न सकेको छैन।
संक्रमणको जोखिमबाट बच्न नाक र मुख दुवै छोपिने गरी मास्क लगाउनुपर्छ तर नेपालमा भने अधिकांशले नाक खुलै राखेर अथवा नाक र मुख दुवै खुला राखेर चिउडोमा मास्क टंग्याउने गरेको पाइन्छ।
यसरी नाक अथवा मुख खुलै राखेर मास्क लगाउनु र मास्क नै नलगाउनुमा कुनै फरक नरहेको चिकित्सकहरुको भनाइ छ।
जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डेयले मास्कको सही प्रयोग अहिले नेपालको चुनौती रहेको बताउनुभयो।
उहाँले सही ढंगले मास्कको प्रयोग गर्ने हो भने नेकपालमा एक महिनामे कोरोना संक्रमणको फैलावट ७० प्रतिशतसम्म नियन्त्रणमा लिन सकिने दाबी गर्नुभयो।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको अनुभवमा पनि नेपालमा सही ढंगले मास्कको प्रयाग भएको छैन।
कतिपय मानिसहरुले मास्कको प्रयोग सही गरे पनि फुकालेर राख्ने ठाउँको जथाभावी प्रयोग गर्ने गरेको पाइएको उहाँले बताउनुभयो।
आफूले प्रयोग गरिरहेको मास्क फुकालेर राख्नुपरे एउटै सफा स्थानको छनौट गर्नुपर्ने उहाँको सुझाव छ।
नाक र मुख छोडेर चिउडो मात्रै ढाकेर मास्क लगाउनु बुद्धिमानी नहुने बताउँदै उहाँले नाक र मुख ढाकेर मात्रै मास्कको प्रयोग गर्न आग्रह गर्नुभयो।
जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डेले मास्कको प्रयोग सही तरिकाले सही ठाउँमा गर्नुपर्ने बताउनुभयो।
उहाँले बाटोमा एक्लै हिँड्दा, घरमा बस्दा अथवा राति सुत्दा मास्क लगाउन नपर्ने बताउनुभयो।
तर अस्पताल लगायतका स्थान र मानिसहरुको भीडभाड हुने स्थानमा भने मास्कको प्रयोग अनिवार्य गर्न उहाँले सुझाव दिनुभयो।
हिजो आज नेपालमा मास्कका प्रयोगकर्ता बढेका भए पनि यसको सही प्रयोगमा समस्या भएका कारण चिकित्सकहरु चिन्तामा छन्।
कतिपय मानिसहरुले दिनभरी मास्क लगाएरै बसे पनि कुनै मानिस भेटिँदा अथवा कुराकानी गर्नुपर्दा मास्क फुकालेर गरिरहेका हुन्छन्।
डा. शेरबहादुर पुनले मानिसहरको यो निकै नै खराब बानी रहेको बताउनुभयो। उहाँले मानिसहरुसँग कुरा गर्दा मास्क खोल्नै नहुने बताउनुभयो।
नेपालमा गाउँको तुलनामा शहरी क्षेत्रमा संक्रमणको जालो फैलिएको छ। घना बस्ती भएको राजधानी काठमाडौँमा संक्रमणको जोखिम सबैभन्दा धेरै पाइएको छ र यो अझै बढ्दो क्रममा छ।
त्यसैले कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम गरी मास्कको सही प्रयोगमा तपाईँ हामी सबैले लापर्वाही गर्नु हुँदैन। समाजका प्रतिष्ठित व्यक्तिहरु नै चिउडोमा मास्क लगाएर हिँडिरहेका भेटिनु लापर्वाहीको पराकाष्ठा हो।