केन्द्रीय कारागार काठमाडौंका ४ जना कैदीबन्दीमा मृत्युपछि कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । उनिहरुको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो ।
मृत्युपछि उनिहरुको पीसीआर टेष्ट गर्दा संक्रमण पुष्टि भएको केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले जानकारी दिनुभयो । ३ जना कैदीको भदौ १६ मा र दोलखा घर भएका १ कैदीको भदौ १९ मा मृत्यु भएको थियो । मृत्यु हुनेमा सिराहाका ६४ वर्षीय पुरुष, बझाङका ६० वर्षीय पुरुष, पाल्पाका ५८ वर्षीय पुरुष र दोलखाका ६९ वर्षीय पुरुष रहेका छन् ।
त्यसअघि, भदौ १५ मा ललितपुरको मेगा अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका एकजना कैदीमा कोरोना पोजेटिभ देखिएको थियो। मेगा अस्पतालमा भर्ना गरिएका कैदी अन्य रोगबाट पनि पीडित थिए । केन्द्रीय कारागारका ६० जना संक्रमितमध्ये ३१ जना कोरोना मुक्त भएका छन् ।
संक्रमितमध्ये केही कैदीलाई किर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलनमा र केहीलाई केन्द्रीय कारागारभित्रको अस्पतालमा आईसोलेशनमा राखेर उपचार गरिएको जेलर बाँस्कोटाले बताउनुभयो ।