काठमाडौं । नेपाली कांग्रेसलाई प्रतिनिधिसभाको समानुपातिकतर्फका तीन पुरुष सांसद छनोट गर्न सकस पर्ने भएको छ ।
समानुपातिकतर्फ कांग्रेसले ३२ सिट पाएको छ । संघीय संसदमा हरेक दलले ३३ प्रतिशत महिला सांसद निर्वाचित गर्नुपर्ने भएकाले कांग्रेसले ३२ मध्ये २९ जना महिला नै पठाउनुपर्छ । बाँकी ३ जनामा भने पुरुषलाई पठाउन पनि सक्छ ।
यही तीन सिटका लागि पूर्व र वर्तमान पदाधिकारीको हानथाप हुने देखिएको छ । समानुपातिकतर्फको बन्दसूचीमा आआफ्नो क्लस्टरको पहिलो नम्बरमा डा. प्रकाशशरण महत, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ पूर्वपदाधिकारी हुन् । जीवन परियार र फरमुल्लाह मन्सुर हालका सहमहामन्त्री हुन् । वर्तमान पदाधिकारीलाई छनोट गर्ने कि पूर्व पदाधिकारीलाई चयन गर्ने भन्ने विषयमा देउवामाथि दबाव परेको छ । नेता विजय गच्छदार निकटलाई पनि संसदमा पुर्याउनुपर्ने दबाव पनि देउवालाई छ ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महत खस आर्य तर्फको पहिलो नम्बरमा छन् । पूर्व उपसभापति श्रेष्ठ आदिवासी जनजातितर्फ र निधि मधेसीतर्फ पहिलो नम्बरमा बसेका छन् । महत, निधि र श्रेष्ठलाई सभापति देउवाले अघि बढाए भने जीवन परियार, फरमुल्लाह मन्सुर र योगेन्द्र चौधरी सांसद बन्ने बाटो रोकिन्छ । परियार दलित, मन्सुर मुस्लिम र चौधरी थारु क्लष्टरको पहिलो नम्बरमा छन् ।
कांग्रेसले प्रत्यक्षतर्फ एक जना पनि दलित उम्मेदवार बनाएन । मुस्लिम समुदायबाट रौतहट २ बाट उम्मेदवार बनेका फिरदोस आलम पराजित भए । योगेन्द्र दाङ १ का टिकट आकांक्षी थिए । तर सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्दा यो क्षेत्र एकीकृत समाजवादीलाई दिनुपर्ने भएपछि योगेन्द्र समानुपातिकमा बसेका थिए । तर अब तीन सिटमा को जाने भन्ने विवाद छ ।