भीष्म लोध, बाँके । निरन्तरको लकडाउन (बन्दाबन्दी)का कारण जीवन निर्वाह गर्न गाह्रो भएपछि भारत जानेहरुको संख्या दैनिक बढिरहेको छ ।
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दीबन्दीको समय बढ्दै गएको र सो अवस्थामा काम गरेर जीवन निर्वाह गर्न गाह्रो भएपछि भारतमा काम गर्न जाने नेपालीहरुको संख्या दैनिक बढिरहेको पाइएको छ ।
नेपाल–भारतको सीमा नाका जमुनाहामा दैनिक संयौंको संख्यामा भारत जाने नेपालीहरुको भिड देख्न सकिन्छ । नेपालमा गुजारा गर्न समस्या भएकाले भारत जान लागेको उनीहरु बताउँछन् ।
इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार दैनिक सयौंकोसंख्यामा नेपालीहरु भारत जानका लागि नाकामा पुग्ने गरेका छन् । नाकामा पुग्ने नेपालीहरुलाई भारतीय आधारकार्ड वा परिचयपत्र भएको खण्डमा जान दिने गरेको चौकीले जनाएको छ ।
जमुनाहा चोकीका इन्चार्ज बिष्णु गिरीले धेरै नेपालीहरु भारत जाने भनेर आउने गरेको बताउनुभयो । नाकामा आउने नेपालीहरुलाई परिचयपत्रको आधारमा भारततर्फ जान दिने गरेको उहाँले जानकारी दिनुभयो ।
‘कोरोनाको महामारी छ, किन भारत जानुहुन्छ, भनेर सोध्दा नेपालमा काम छैन, रोगले भन्दा भोकले मर्ने अवस्था आउन लाग्यो भन्छन् उनीहरु’, चौकी प्रमुख गिरीले भन्नुभयो ।
चौकीका अनुसार पछिल्लो केही दिनदेखि हालसम्म हजारभन्दा बढी नेपाली भारत फर्किएका छन् ।
कोरोना महामारीको शुरुवाती चरणमा नेपाल फर्किनेहरु नै अहिले भारत गइरहेको बताइन्छ ।
घरमा बसेर भोक मेट्न नसकिने भएकाले कोरोनाको जोखिमका बीच पनि कामको खोजीमा भारत जानु परिहेको उनीहरुको भनाइ छ ।
प्रदेश–५ को बाँके, बर्दिया, दाङ र कर्णाली प्रदेशको सुर्खेत, सल्यानलगायत पहाडी जिल्लाका नेपालीहरु भारत फर्किन बाध्य छन् ।
सरकारले बन्दाबन्दीका समयमा समस्यामा परेकाहरुको दैनिकी सहज बनाउन बैकल्पिक उपाय तय गर्न नसक्दा धेरै आफूहरुको दैनिकी कष्टकर बनिरहेको उनीहरुको भनाइ छ ।