Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बालुवाटारमा देउवाको जोडघटाऊ, सिके र महन्थलाई यसरी फकाए...

बालुवाटारमा देउवाको जोडघटाऊ, सिके र महन्थलाई यसरी फकाए...

  • बिहिवार, मंसिर १५ २०७९

  • 782
    SHARES

  • बालुवाटारमा देउवाको जोडघटाऊ, सिके र महन्थलाई यसरी फकाए...

    काठमाडौं । आमनिर्वाचन २०७९ को अन्तिम मतपरिणाम आउँदै गर्दा मुलुकमा सरकार निर्माणका लागि दलहरु कसरतमा जुटेका छन् । विशेषगरी सत्ताघटक नेपाली कांग्रेस सरकार गठनको प्रक्रियामा अगाडि बढेको छ ।

    नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुसँग अनौपचारिक छलफल थाल्नुभएको छ । गठबन्धनमा रहेका दल तथा त्यसबाहिर रहेका दलका नेताहरुसँग उहाँले बालुवाटारमा छुट्टाछुट्टै छलफल जारी राख्नुभएको छ ।

    चुनाव जितेपछि विजयोत्सव मनाइरहेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री देउवाले काठमाडौं बोलाएर छलफल गर्नुभएको छ । सत्ता गठबन्धनलाई बहुमत जुटाउन केही सिट अपुग देखिन्छ । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपाबाहेक पनि केही सिट आवश्यक परेपछि प्रधानमन्त्री देउवाले छलफल थाल्नुभएको हो ।

    बहुमतका लागि प्रतिनिधिसभामा कम्तीमा १३८ सांसदको समर्थन आवश्यक हुन्छ । हाल प्राप्त मत परिणाम अनुसार सत्ता गठबन्धनमा रहेका दलमध्ये कांग्रेसले ५४ (१ अग्रता), माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन् । गठबन्धनको जम्मा प्रत्यक्ष मत ८६ हुन्छ । हालसम्मको मतपरिणामअनुसार सत्ता गठबन्धनमा रहेका दलहरुले समानुपातिकतर्फ बढीमा ४६ सिट प्राप्त गर्ने देखिएको छ । प्रत्यक्ष र समानुपातिक गरी सत्ता गठबन्धनसँग १३२ सांसद पुग्ने देखिन्छ ।

    सरकार बनाउन सत्ता गठबन्धनसँग ६ सिट अपुग छ । सीके राउतसँग एक सिट प्रत्यक्ष र समानुपातिक पाँचसहित ६ सिट छ । त्यही भएर सीके राउतलाई सत्ता गठबन्धनमा भित्र्याउन प्रयास भइरहेको छ ।

    उता, नागरिक उन्मुक्ति पार्टी गठन गरेका रेशम चौधरीलाई पनि सत्ता गठबन्धनमै तान्ने प्रयास भइरहेको छ । यता, स्वतन्त्रबाट जितेका प्रभु साह, किरण साह र डा. अमरेश सिंहलाई पनि सत्ता गठबन्धनले आफ्नो पक्षमा राखेर हिसाब गरिरहेको छ तर हालसम्म प्रभु साहले यस विषयमा केही बोल्नुभएको छैन ।

    महन्थ ठाकुर र सीके राउतले मधेस प्रदेश सरकारका लागि गठबन्धनसँग बार्गेनिङ गरिरहेको बुझिएको छ । दुवैजनाले मधेस प्रदेश सरकारको नेतृत्व माग गरिरहेका छन् । सीके राउत नेतृत्वको पार्टीको भूमिका प्रदेश तथा केन्द्र सरकार गठनमा निर्णायक भएको कारण नै सो पार्टीले बार्गेनिङको रफ्तार बढाएको छ ।


    बिहिवार, मंसिर १५ २०७९०२:५२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij