Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

काठका ठेकी बनाउने लोपोन्मुख सीप संरक्षण गरिँदै

काठका ठेकी बनाउने लोपोन्मुख सीप संरक्षण गरिँदै

  • बुधवार, आषाढ १७ २०७७

  • 2.2K
    SHARES

  • काठका ठेकी बनाउने लोपोन्मुख सीप संरक्षण गरिँदै

     
    रुकुमपश्चिम : रुकुमपश्चिमको मुसीकोट नगरपालिका–११ का नरीभान कामी काठको ठेकी बनाउन सिकिरहनुभएको छ । दूधबाट दही बनाउन प्रयोग हुने काठको ठेकी बनाउने सीप सिक्न उहाँ केही दिनदेखि व्यस्त हुनुहुन्छ । कामीजस्तै मुसीकोट–६ का भूपेन्द्र विकले पनि ठेकी बनाउने सीप सिकिरहनुभएको छ । कामी र विकजस्तै नगरका १० वडाबाट एक–एक गरी १० युवालाई मुसीकोट नगरपालिका–२ रातामाटाका ६९ वर्षीय चन्द्रबहादुर चदाराले ठेकी बनाउन सिकाइरहनुभएको छ ।    

    भैँसी र गाईको दूधबाट दही बनाउन प्रयोग हुने काठको ठेकी बनाउने सीप जिल्लामा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । विशेषगरी दलित समुदायका व्यक्तिले बनाउने ठेकी पछिल्लो समय प्रयोगमा कमी आएको छ । बजारीकरण र दूध उत्पादनमा समेत कमी आउँदा ठेकीको प्रयोगमा कमी आएको हो भने ठेकी बनाउन जान्ने मान्छेमा पनि कमी आएको छ । सीप पुस्तान्तरण नहुँदा युवापुस्ताको यसमा आकर्षण छैन ।    

    यसैलाई मध्यनजर गरेर जिल्लाको मुसीकोट नगरपालिका काठको ठेकी बनाउने सीपलाई पुस्तान्तरण गर्न लागिपरेको छ । नगरपालिकाले नगरका विभिन्न वडाका युवालाई ठेकी बनाउने सीप सिकाइरहेको छ । दलित लक्षित बजेटबाट ठेकी बनाउने तालिम सञ्चालन गरिरहेको नगर उपप्रमुख प्रेमकुमार सुनारले जानकारी दिनुभयो । ठेकी बनाउन जान्ने सीप भएका व्यक्तिबाट युवाहरुलाई सीप सिकाइरहेको उहाँको भनाइ छ ।    

    ठेकी बनाउने कला लोप हुने अवस्थामा पुगेपछि युवाहरुलाई ठेकी बनाउने सीप सिकाई ठेकी उत्पादन उद्योग सञ्चालन गर्नेसम्मको लक्ष्य लिएको उपप्रमुख सुनारले बताउनुभयो । “जिल्लामा पछिल्लो समय काठका ठेकी लोप हुने अवस्थामा पुगेका छन्, युवाहरुको यसमा आकर्षण नै छैन”, उहाँले भन्नुभयो, “जानेका बूढापाकाले आफूमा भएको सीप युवामा हस्तान्तरण गर्ने वातावरणसमेत बनेको छैन, अब हाम्रो लक्ष्य भनेको युवालाई सीप सिकाउने र जिल्लामा ठेकी उद्योग सञ्चालन गर्ने रहेको छ ।”

    जिल्लामा रहेका डेरीहरुमा पनि काठको ठेकीको प्रयोगलाई बढाई जिल्लामा ठेकीको खपतलाई बढाउने गरी आफूहरुले युवाहरुलाई सीप सिकाइरहेको उहाँले बताउनुभयो । यसका लागि नगरपालिकाले रु तीन लाख बजेट खर्च गर्दैछ । दलित लक्षित बजेटबाट दलित समुदायका युवाहरुलाई ठेकी बनाउने सीप नगरपालिकाले सिकाइरहेको छ ।    

    जिल्लामा परम्परागतरूपमा हाते सामग्रीबाटै ठेकी बनाउने गरिन्छ । अहिले नगरपालिकाले पनि युवाहरुलाई सोही विधिबाट ठेकी बनाउन सिकाइरहेको छ । काठबाट बनाइएका ठेकी गाउँघरमा अहिले पनि उत्तिकै मात्रामा प्रयोग भइरहेका भए पनि बजार क्षेत्रमा भने प्रयोग हुन छाडेका छन् ।    

    काठको ठेकीमा बनाएको दही अन्य विधिबाट बनाइएको भन्दा मिठो हुने भए पनि ठेकी उत्पादनमा कमी आएका कारण यसको प्रयोग बढ्न नसकेको देखिएकाले पनि ठेकी बनाउने सीपमूलक कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिएको नगरपालिकाले जनाएको छ । (रासस)    


    बुधवार, आषाढ १७ २०७७०८:४१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij