काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार(आज) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
भोलि देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशको हिमाली भू–भागका एक वा दुई स्थान हल्का हिमपातको सम्भावना रहेको छ ।