काठमाडौं । बलात्कार अभियोग लगाइएका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा शुक्रबार(आज) जवाफी बहस हुनेछ । सन्दीपका तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएपछि आज जवाफी बहस हुन लागेको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा भएको थुनछेक बहसमा हिजो सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा,सविता भण्डारी, लव मैनाली, रमन श्रेष्ठ र अधिवक्ता सुवास पाठकले बहस गरेका थिए । सन्दीपकै तर्फबाट बुधबार अधिवक्ताद्वय मुरारी सापकोटा र रोशनी पौड्यालले बहस गरेका थिए ।
सबैजसो अधिवक्ताहरूले सन्दीप निर्दोष रहेको, बलात्कार भएको पुष्टि गर्ने कुनै प्रमाण नभएको जिकिर गर्दै तत्काल रिहा हुनुपर्ने माग राखेका थिए । उनीहरूले बलात्कार गरेको कुनै ठोस प्रमाण अभियोजनमा नभएको दाबी गर्दै आफ्नो पक्ष निर्दोष रहेको जिकिर गरे । बलात्कार भन्दै दाबी गरिए पनि घटनास्थल मुचुल्कामा केही नभएको, डाक्टरको रिपोर्टले समेत बलात्कार पुष्टि गर्ने कुनै आधार नदिएको सन्दीपका वकिलको तर्क छ ।
हिजो समयाभावका कारण सरकारी वकिलको तर्फबाट जवाफी बहस भएन । त्यसैले सन्दीपविरुद्धको मुद्दा आजका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । आज सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता महेश खत्रीले जवाफी बहस गर्नुहुने छ ।
जवाफी बहस सकिएपछि अदालतबाट सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउनेछ ।
अधिवक्ता सापकोटाका अनुसार सन्दीपका तर्फबाट उपस्थित कानुन व्यवसायीले उनीविरुद्ध लगाइएको अभियोग पुष्टि गर्ने कुनै प्रमाण अभियोजनकर्ताले पेस गर्न नसकेको जिकिर गरेका छन् । उनीहरूले जाहेरीवालाको जन्मदर्ता, विद्यालयका प्रमाणपत्रहरू पेस गर्दै पीडित भनिएकी नाबालिग नभएको दाबी गरे ।उनीहरूले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्नु नपर्ने र धरौटीमा रिहा गरेर मुद्दा अघि बढाउन सकिने तर्क गरे ।