Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सन्दीपविरुद्धको बलात्कारको मुद्दामा आज पनि थुनछेक बहस, आजै आदेश आउने सम्भावना

सन्दीपविरुद्धको बलात्कारको मुद्दामा आज पनि थुनछेक बहस, आजै आदेश आउने सम्भावना

  • बिहिवार, कार्तिक १७ २०७९

  • 856
    SHARES

  • सन्दीपविरुद्धको बलात्कारको मुद्दामा आज पनि थुनछेक बहस, आजै आदेश आउने सम्भावना
    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको मुद्दामा बिहीबार(आज) पनि थुनछेक बहस हुने भएको छ । हिजो बहस नसकिएकाले सन्दीपको मुद्दा हेर्दाहेर्दैमा छ । 
     
    जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा भएको थुनछेक बहसमा हिजो सरकारी वकिलका तर्फबाट ४ जनाले बहस गरेका थिए । उनीहरूले सन्दीपले बलात्कार गरेको दाबी प्रस्तुत गरे ।
     
    पीडित किशोरीको बयानअनुसार त्यस राति सन्दीप उक्त होटेलमा देखिएको, सीसीटीभी फुटेज लगायतबाट उक्त कुरा पुष्टि भएको, राति एउटै कोठामा बसेकोसम्म प्रतिवादीले स्वीकार गरिसकेको र अन्य घटना प्रमाण तथा बयानहरूका आधारमा बलात्कार पुष्टि भएको जिकिर उनीहरूको थियो ।  
     
    पीडित भनिएकी किशोरीको तर्फबाट अन्य ४ जना कानुन व्यवसायीले पनि बहस गरेका थिए । विभिन्न संस्थाहरूका तर्फबाट उनीहरूले बहस गरेका हुन् । उनीहरूले पनि प्रतिवादी लामिछानेले बलात्कार गरेको जिकिर गर्दै कानुन बमोजिम सजाय हुनुपर्ने माग दाबी गरे । 
     
    यता सन्दीपको तर्फबाट पनि २ जना कानुन व्यवसायीले बहस गरेका थिए । उनीहरूले लामिछानेमाथि लगाएको आरोप पुष्टि गर्ने कुनै प्रमाण नभएको भन्दै लामिछानेले सफाइ पाउनुपर्ने दलिल पेस गरे । 
     
    सन्दीपको तर्फबाट हिजो बहस गरेका मुरारीप्रसाद सापकोटाले भन्नुभयो, ‘अभियोग पुष्टि हुने कुनै प्रमाणहरू पेस भएका छैनन्। मिथ्या आरोप लगाइएकाले हाम्रो पक्षले आरोपबाट सफाइ पाउनुपर्छ।’
     
    सापकोटाका साथै रोशनी पौडेलले पनि लामिछानेको पक्षबाट बहस गर्नुभएको थियो । उहाँले पनि अभियोग मात्रै लगाइएको, तर पुष्टि हुने कुनै आधारहरू नै भएकाले आफ्नो पक्ष निर्दोष रहेको जिकिर गर्नुभयो । 
     
    सन्दीपका कानुन व्यवसायीले पीडित भनिएकी किशोरी बालिग रहेको भन्दै प्रमाण समेत इजलाससमक्ष पेस गरेका छन् । पीडित भनिएकी किशोरीको जन्मदर्ता, स्कुलमा भर्ना हुँदाका विवरणहरू, बसाइँ–सराइका कागजहरू पेस गरिएको अधिवक्ता सापकोटाले बताउनुभयो । 
     
    उनीहरूले पेस गरेको जन्मदर्ता तथा स्कुलको विवरण अनुसार पीडित भनिएकी किशोरीको जन्म मिति २०६१ असार १८ गते रहेको छ । उनीहरूले पेस गरेको उक्त विवरण अनुसार घटना भएको मितिमा किशोरीको उमेर १८ वर्ष पूरा भइसकेको हुन्छ । 
     
    आज सन्दीपको पक्षबाट बहस गर्ने वकिलहरूको सूचीमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लबप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सविता बराल भण्डारीलगायत छन् । सन्दीपका पक्षका कानुन व्यवसायीहरूको बहस सकिएमा सम्भवतः आज नै थुनछेक आदेश जारी हुनेछ । अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा राख्ने भन्ने आदेश जारी गर्नेछ । 
     
    बलात्कारको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार सन्दीपविरुद्ध अदालतमा अभियोग पत्र दायर गरेको थियो । 
     
    सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को  परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ। 
     
    दफा २१९ को उपदफा (३) देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको माग दाबी गरिएको हो ।
    मंगलबार सन्दीपले जिल्ला न्यायाधीश माधव घिमिरेको इजलासमा बयान दिएका थिए । बयानका क्रममा सन्दीपले पीडित भनिएकी किशोरीले कसैको उक्साहटमा आफूविरुद्ध उजुरी दिएको बताएका थिए । प्रहरीलाई पनि इन्कारी बयान दिएका सन्दीपले अदालतमा पनि उस्तै विषयलाई दोहोर्‍याएका थिए । 
     
    सन्दीपले आफूमाथि दुई पटक जबरजस्ती करणी गरेको पीडित युवतीले बयानमा उल्लेख गरेकी छन् । सन्दीपले भने बलात्कारको आरोप अस्वीकार गरेका छन् । पीडित युवतीसँग होटेलमा बसेको, तर बलात्कार नगरेको उनको दाबी छ ।
     


    बिहिवार, कार्तिक १७ २०७९०७:०८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij