गण्डकी प्रदेशमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जिल्लाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा गोरखाका ५ र कास्कीका ४ जना रहेका छन् ।
आज बिहानमात्रै गण्डकी प्रदेशका ६ जिल्लामा १६ जना संक्रमित भेटिएका थिए । यो सँगै गण्डकीमा एकैदिन २५ जना नयाँ संक्रमित फेला परेका छन ।
संक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिनुभयो ।
गण्डकीमा कोरोना संक्रमण हुनेको संख्या १ हजार ८८ पुगेको छ । प्रदेशमा अहिलेसम्म २ सय ९६ डिस्चार्ज हुँदा ३ जनाको मृत्यु भएको छ ।
यसैबीच नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।
गोरखा पालुङटार नगरपालिका ७ पुर्ने पिपलबाट गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको आज बिहान मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।
कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।