Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

तिहारको लक्ष्मी पूजा पनि आजै, धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

तिहारको लक्ष्मी पूजा पनि आजै, धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

  • सोमवार, कार्तिक ७ २०७९

  • 827
    SHARES

  • तिहारको लक्ष्मी पूजा पनि आजै, धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै
    काठमाडौं । यमपञ्चक अन्तर्गत आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदै छ । 
     
    आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
     
    आज घरमा बिहानै सफा सुग्घर तथा गाईको गोबर एवम् रातोमाटोले लिपपोतसँगै दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, कोठा, कौसीमा शृङ्गार गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा र दीपावली गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ ।
     
    लक्ष्मी पूजाका लागि आज बेलुका चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो बनाउने गरिन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।
     
    आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । आज बेलुका भैलो समेत खेल्ने गरिन्छ ।
     
    यस्तै आज घरको पहरेदार कुकुरलाई मनपर्ने खानेकुरा दिएर कुकुर तिहार पनि मनाइन्छ । कुकुरको पूजा गरेमा ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ ।
     
    आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप बालेर दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ ।
     
    गाईपूजा कात्तिक ८ गते मंगलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म म्ह पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ ।
     
    तिहारको मुख्य दिन भाइटीका कात्तिक १० गते परेको छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
     
     
     
     
     
     
     
     


    सोमवार, कार्तिक ७ २०७९०७:४०:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij