काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन संग्रामको रूपमा हुन लागेको बताउनुभएको छ । विराटनगरमा आज आयोजित सत्ता गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले यो निर्वाचनमा दुई फरक–फरक प्रवृत्तिबीच प्रतिस्पर्धा हुन लागेको समेत बताउनुभयो ।
अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनपछि संविधान निर्माण भएको र अहिले गोरू गाडावालाले टाउको उठाउन खोजेको आरोप लगाउनुभयो ।
‘यो गठबन्धन १२ बुँदे सहमतिको पक्षपातीहरूको गठबन्धन हो । अर्को गठबन्धन गोरूगाडावाला गठबन्धन हो । त्यसकारण मंसिर ४ गते एउटा ठूलो संग्राम हुँदैछ’ उहाँले भन्नुभयो । ‘यो गठबन्धन नबनाएको भए शेरबहादुरको नेतृत्वमा सरकार पनि बन्दैनथियो । स्थानीत तहमा यो परिणाम आउँदैनथियो’।
विस्तृत शान्ति सम्झौता र संविधान रक्षाका लागि काँग्रेससहितको गठबन्धन निर्माण गरिएको उहाँले बताउनुभयो । ओलीले धोका दिएपछि आफूले ज्ञान प्राप्त गरेको बताउँदै प्रचण्डले सहमति, सहकार्यको संस्कृति निर्माण शान्ति सम्झौतापछि भएकोले एकअर्कालाई सहयोग गर्न कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।