Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्णालीका बाढी पहिरो पीडितको तत्काल उद्धार गर्न गृहमन्त्री खाँणको निर्देशन

कर्णालीका बाढी पहिरो पीडितको तत्काल उद्धार गर्न गृहमन्त्री खाँणको निर्देशन

  • सोमवार, आश्विन २४ २०७९

  • 643
    SHARES

  • कर्णालीका बाढी पहिरो पीडितको तत्काल उद्धार गर्न गृहमन्त्री खाँणको निर्देशन
    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कर्णाली प्रदेशका मुगु, कालिकोट र हुम्लामा बाढी र पहिरोबाट घाइते भएकाको तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ। 
     
    गृहमन्त्री खाँणले तत्कालका लागि जिल्लामा रहेको स्रोत साधनको उपयोग गरेर घाइतेको उद्धार, उपचार र पुनः स्थापना गर्नु पर्ने भए पुनः स्थापना गर्न र थप स्रोत साधनको आवश्यकता पर्ने भए मन्त्रालयमा लेखि पठाउन निर्देशन दिनुभएको छ।
     
    गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेल, नेपाल प्रहरीका कर्णाली प्रदेशका प्रमुख, प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्री खाँणले टेलिफोनमार्फत निर्देशन दिनुभएको हो। 
     
     
    उहाँले सरकारको मुख्य दायित्व नागरिकको जीवन रक्षा भएकाले संवेदनशील भएर विपद् प्रभावितको उद्धार र उपचारमा लाग्न पनि भन्नुभएको छ। मुगुको छाँयानाथ रारा नगरपालिका–११ को सालिम भन्ने स्थानमा मानबहादुर कुमाईंको घर पुरिँदा ५ जनाको शव प्राप्त भएको र ११ जना बेपत्ता भएको खबर आएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो।
     
    ठाउँ ठाउँमा पहिरो गएकाले सुरक्षा टोली घटनास्थलमा पुग्न पनि अप्ठ्यारो परिरहेको र केहीबेरमा पुग्ने जनाकारी आफूले पाएको उहाँले बताउनुभयो। 
     
    त्यस्तै, कालिकोटको तिलगुफा नगरपालिका–४ राँचुली भन्ने स्थानमा मलामीहरूले लास जलाइरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुर्दा १३ जना बेपत्ता भएको खबर आएको र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगिसकेको प्रहरीका कर्णाली प्रदेश प्रमुख, डीआईजी पोखरेलले जानकारी दिनुभयो। सुरक्षाकर्मीले बेपत्ताहरूको खोजी कार्य जारी राखेको, पहिरो तिला नदीसम्म पुगेको उहाँले बताउनुभयो। 
     
    यता हुम्लाको चखेली गाउँपालिका–६ मेलथममा मानवीर विकको घर पहिरोले बगाउँदा ९ जना पुरिएकामा ४ जनाको मृत्यु भएको र ५ जनाको जीवितै उद्धार गरिएको डीआईजी पोखरेलले बताउनुभयो। घाइतेहरूलाई थप उपचारका लागि नेपालगञ्ज लैजानका लागि हेलिकोप्टर घटनास्थलमा लैजाने तयारी भइरहेको डीआईजी पोखरेलले बताउनुभयो। 


    सोमवार, आश्विन २४ २०७९०३:४५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij