काठमाडौं । एमालेकी निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । दाङ–१ बाट प्रत्यक्षका लागि सिफारिसमध्ये एक उनले टिकट नपाउने संकेत बुझेपछि स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ ।
दाङ–१ बाट उहाँसँगै एमाले संसदीय दलकी निवर्तमान सचेतक शान्ता चौधरी सिफारिस हुनुभएको छ । शान्ताले टिकट पाउने लगभग तय भएपछि उहाँले विद्रोह गर्नुभएको हो ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘आज मैले ठिक निर्णय गरे वा बेठिक मलाई थाहा छैन। राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु। जनता भगवान हुन्, जनता नै सर्वपरी हुन्। देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बिचमा आउँदै छु, हजुरहरूको साथ चाहिएको छ।’
गंगा चौधरीले २०४९ सालमा एमालेको क्रियाशील सदस्यता लिएर पार्टीमा आबद्ध हुनुभएको थियो । उहाँले २०६४ सालमा एमाले परित्याग गरी थरुहट तराई पार्टीमा लाग्नुभएको थियो । २०७० मा संविधानसभा सदस्य बन्नुभएकी चौधरी २०७४ सालको निर्वाचनअघि एमालेमै फर्किनुभएको थियो । २०७४ सालमा प्रतिनिधिसभामा समानुपातिक सांसद बन्नुभएकी उहाँले अहिले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको हो। एमालेको चितवनमा भएको १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य हुनुभएको थियो ।