Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दसैँ नजिकिएसँगै १७ लाखले छाडे काठमाडौं उपत्यका, दशमीसम्म दुई लाखले  छाड्ने अनुमान, यात्रुका समस्या उस्तै (खास खबर)

दसैँ नजिकिएसँगै १७ लाखले छाडे काठमाडौं उपत्यका, दशमीसम्म दुई लाखले  छाड्ने अनुमान, यात्रुका समस्या उस्तै (खास खबर)

  • आइतवार, आश्विन १६ २०७९

  • 1.5K
    SHARES

  • दसैँ नजिकिएसँगै १७ लाखले छाडे काठमाडौं उपत्यका, दशमीसम्म दुई लाखले  छाड्ने अनुमान, यात्रुका समस्या उस्तै (खास खबर)
    काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँ नजिकिएसँगै झण्डै १७ लाख जनाले काठमाडौं उपत्यका छोडेका छन् ।  व्यवसाय, रोजगारी, अध्ययनलगायत उद्देश्यसहित देशभरका लाखौँ सर्वसाधारण परिवारबाट छुट्टिएर संघीय राजधानी काठमाडौंमा बसोबास गर्दै आएका छन् । जब दसैँ, तिहार तथा छठजस्ता ठुला पर्व आउँछन्, त्यसपछि भने उनीहरू आफ्नै परिवारसँगै चाडपर्व मनाउन गृहजिल्ला जाने गर्छन् । विशेषगरी दसैँमा यस्तो प्रचलन बढी हुन्छ । फलस्वरूप यसवेला काठमाडौंका बसपार्कहरूमा घर फर्कनेहरूको भीड बढेको पाइएको छ । 

    गत वर्षमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण कम यात्रुहरू घर गए पनि यसवर्ष भने २० लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । अहिलेसम्म गत वर्षको भन्दा झण्डै दोब्बर बढिले उपत्यका छोडेका छन् । घटस्थापनादेखि अहिलेसम्म मात्र ४ लाख ५७ हजार ७४० जनाले उपत्यका छोडेका छन् भने २ लाख ५३ हजार ३१३ जना भित्रिएका छन् ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार असोज १ गतेदेखि आजसम्म १७ लाख जनाले काठमाडौं उपत्यका छोडेका छन् । विजया दशमीको दिनसम्ममा अझै दुई लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ । उपत्यका छोड्नेहरूको निकै घुइँचो लाग्ने गरेको भन्दै उहाँले थेग्नै गाह्रो भएर स्थानीय रुटमा चल्ने गाडीलाई समेत उपलब्ध गराएर पठाएको बताउनुभयो ।

    विगतका वर्ष जस्तै यो वर्ष पनि सवारी साधनमा तोकिएको भन्दा बढी भाडा लिने, एउटै सिटमा दुई जनाको टिकट काट्ने, यात्रुलाई टिकट काट्दाको भन्दा फरक सिटमा राख्नेलगायतका समस्या यात्रुले भोगिरहेका छन् । कतिपय यात्रुले पहिले नै टिकट नकाटेर बीच बाटोबाटै गाडी चढ्दा बढी भाडा लिएको हुनसक्ने अध्यक्ष स्वाँरले बताउनुभयो । उहाँले काउन्टरबाट टिकट लिएको ठाउँमा त्यस्तो समस्या नभएपनि बीचबीचबाट टिकट लिएकाहरूमा भने त्यस्तो समस्या आएको स्वीकार गर्नुभयो ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । कार्यालयले विभागको सहकार्यमा राजधानीको नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, साङ्गा, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखेको हो ।

    प्रहरीले यात्रु सहायता कक्षमार्फत राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गरिरहेको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना लागु गरेको भन्दै यो वर्षबाट यात्रुहरूको सहजताको लागी यान्त्रिक परीक्षण पनि सुरु गरेको बताउनुभयो ।

    यात्रुको चाप बढ्दा अघिपछिभन्दा दसैँका वेला गरिने यात्रा असामान्य तथा जोखिमपूर्ण हुन्छ । साथै, सवारी दुर्घटना बढी हुने गरेको देखिन्छ । यात्रुको चाप बढी हुने, गाडीले क्षमताभन्दा बढी यात्रु बोक्ने, बढी ट्रिप गर्न उच्च गतिमा गाडी चलाउने तथा गुणस्तरीय सडक नहुँदा दुर्घटनाको सम्भावना बढी हुन्छ । यता प्रवक्ता राई यस्तो दुर्घटनालाई मध्यनजर गरेर विशेष टोली खटाएको बताउनुहुन्छ ।

    यो वर्ष दसैँ चाँडो परेकाले देशभरका धेरै सडकमा खाल्डाखुल्डी र पहिरो हटिसकेको छैन । दसैँलाई लक्षित गरी भदौदेखि नै मर्मत सुरु गरिएको भए पनि वर्षा अझै पूर्ण रूपमा नहटिसकेकाले सबैतिरको सडक मर्मत भइसकेको छैन । यस्तो अवस्थामा यातायात व्यवसायी तथा गाडी चालकहरूले सावधानी अपनाउन जरुरी छ ।


    आइतवार, आश्विन १६ २०७९०८:३४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij