Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बीमा र यान्त्रिक परीक्षण नगरेका बसलाई गुडाउन रोक

बीमा र यान्त्रिक परीक्षण नगरेका बसलाई गुडाउन रोक

  • शनिवार, आश्विन ८ २०७९

  • 459
    SHARES

  • बीमा र यान्त्रिक परीक्षण नगरेका बसलाई गुडाउन रोक
    काठमाडौं । सरकारले बीमा र यान्त्रिक परीक्षण नगरेका यात्रुवाहक सवारी साधन गुडाउन रोक लगाउने भएको छ । दसैं र तिहारलगायत ठुला चाडपर्व नजिकिएसँगै सवारी दुर्घटना र जनधन क्षति हुन थालेको भन्दै गृह मन्त्रालयद्वारा गठित समितिले बीमा नगरेका यात्रुवाहक सवारी साधन गुडाउन र यान्त्रिक परीक्षण नगरी सवारी गुडाउन रोक लगाउने निर्णय गरेको हो ।
     
    यस्तै दुर्घटना भई बिरामीको हवाई मार्गबाट अस्पतालसम्म लैजानु पर्ने भएमा यातायात व्यवसायी महासंघले नै खर्च बेहोर्नुपर्ने छ ।
     
    सरकारले शुक्रबार सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरण एवं समाधानका लागि समन्वय गर्न गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा  ७ सदस्यीय समिति गठन गरेको हो । समिति गठनको भोलिपल्ट शनिबार(आज)को समिति बैठकले सार्वजनिक यातायातबाट हुने यात्रा सुरक्षित र व्यवस्थित गर्न १४ बुँदे निर्णय गर्दै बीमा र सवारी यान्त्रिक जाँचलाई कडाइका साथ लागू गर्ने उल्लेख गरेको छ ।
     
    गृह मन्त्रालयका प्रवक्ता तथा समिति संयोजक पोखरेलका अनुसार बीमा र यान्त्रिक परीक्षण अनिवार्य गर्नेबाहेक गन्तव्य स्थलमा छिटो पुग्न तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न प्रहरी, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको संयोजनमा राजमार्गमा टाइम कार्ड लगाउने निर्णय भएको छ । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने र छतमा राखेर यात्रा गराउन रोक लगाइने छ। निर्णय कार्यान्वयन भए÷नभएकोबारे प्रहरीले नियमित जाँच गर्ने पनि उल्लेख छ ।
     
    लामो दुरीका हरेक सार्वजनिक सवारी साधनमा प्राथमिक उपचार किट, प्रहरी हटलाइन नम्बरलगायत व्यवस्था मिलाउनु पर्नेछ । तीव्र गतिमा सवारी चलाए तत्कालै प्रहरीलाई खबर गर्न सकिने र त्यसका लागि हटलाइन व्यवस्था मिलाइने उल्लेख छ । आइतबारबाटै यातायात व्यवस्था विभागले मध्यम तथा लामो दूरीमा चल्ने सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवसायीहरूको समन्वयमा उपत्यकाका मुख्य मुख्य स्थानहरूमा यान्त्रिक परीक्षणको व्यवस्था मिलाउने छ ।
     
    यस्तै मादक पदार्थ र लागू औषध सेवन गरी सवारी चलाउने प्रवृत्ति निरुत्साहित गर्न फिल्डमै किटबाट परीक्षण गरिने छ । लागूपदार्थ प्रयोग गरे÷नगरेको पत्ता लगाउन प्रहरीको लागू औषध नियन्त्रण ब्युरोबाट टोली खटिने उल्लेख छ ।
     
    राजमार्ग तथा अन्य सडकमा दुर्घटना भए नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाललाई तयारी हालतमा राखेर परिचालन गराउन मिल्ने गरी व्यवस्था गर्न पनि भनिएको छ ।


    शनिवार, आश्विन ८ २०७९०७:१२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij