Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्य मन्त्रालयको घोषणाः नेपालमा कोरोना समुदायस्तरमा फैलिसक्यो

स्वास्थ्य मन्त्रालयको घोषणाः नेपालमा कोरोना समुदायस्तरमा फैलिसक्यो

  • मंगलवार, भाद्र १६ २०७७

  • 1.6K
    SHARES

  • स्वास्थ्य मन्त्रालयको घोषणाः नेपालमा कोरोना समुदायस्तरमा फैलिसक्यो


    काठमाडौँ – सरकारले नेपालका १२ जिल्लामा कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार डा. सुरेश तिवारीले नेपालका १२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेको बताउनुभएको हो ।

    स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने दैनिक नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार तिवारीले हालसम्म फेला परेका संक्रमितमध्ये ७३ प्रतिशत १२ जिल्लाका रहेको बताउनुभयो । ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मोरङ, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देहीमा कोरोना समुदायमा फैलिएको उहाँले बताउनुभयो ।

    हट स्पट बनेका यी क्षेत्रमा समुदायमा संक्रमण भएकोले नियन्त्रण र परीक्षण दायरालाई बढाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले विभिन्न तथ्यांकका आधारमा कोरोना समुदायमा फैलिएको पुष्टि हुने भएकोले परीक्षणको दायरालाई बढाउनुका साथै वैज्ञानिक पार्नुपर्ने बताउनुभयो । परीक्षणको दायरा मात्रै बढाउने तर त्यसलाई वैज्ञानिक नपार्ने हो भने ठूलो दुर्घटना रोक्न नसकिने उहाँले बताउनुभयो ।

    पछिल्लो समय कोरोना नियन्त्रणमा लिने भन्दै विभिन्न जिल्लामा निषेधाज्ञा जारी छ । तर निषेधाज्ञाकाबीच केही घण्टा खुल्ने बजारमा मानिसहरुका ठूलो भिड हुने गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौमतले तरकारी पसलमा समेत मानिसहरुको भिड बढेको पाइएकोले दुई मिटर दूरी जसरी पनि कायम गर्न आग्रह गर्नुभयो ।

    विश्वका वैज्ञानिकहरु कोरोनाविरुद्धको खोप आविष्कारका लागि कडा मिहेनत गरिरहेका छन् । तर अहिलेसम्म खोप तयार भइसकेको छैन । कुनै औषधि समेत पत्ता नलागेको यो रोगविरुद्ध हरेक नागरिर युद्धको मैदानमा रहेकाले सुरक्षात्मक उपाय अपनाउँदै लडाई जित्नुपर्ने आवश्यकता रहेको जनस्वास्थ्य वैज्ञानिक डा. तिवारीले बताउनुभयो ।

    कोरोना नियन्त्रणमा लिन भन्दै विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञाका कारण मानिसहरुको दैनिकी ठप्प छ । आर्थिक अवस्था कमजोर भएका मानिसहरु भोकभोकै पर्न थालेका छन् । कतिपयले अब कोरोनाको रोगले भन्दा पनि भोकले मर्न थालिएको भन्दै निषेधाज्ञा हटाउन आवाज उठाइरहेका छन् ।


    मंगलवार, भाद्र १६ २०७७०७:४७:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij