काठमाडौं । कोरोना संक्रमणले थप २ जनाको मृत्यु भएको छ । नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका ५३ वर्षीय पुरुष हुन् ।
कोरोना संक्रमण पुष्टि भएपछि गत साउन ३१ मा उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो । साउन ३० मा स्वाब संकलन गरी परीक्षण गर्दा साउन ३१ मा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
१७ दिनदेखि उपचाररत ५३ वर्षीय पुरुषको सोमबार राति पौने एक बजेको समयमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिनुभएको छ । कोरोना संक्रमित ती पुरुष मधुमेह र मिर्गौलाका बिरामी थिए । पछिल्लो समयमा उनमा श्वासप्रश्वासको समेत समस्या देखिएको थियो । योसहित कोरोना संक्रमणले पर्सामा मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
यसैबिच, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा उपचाररत सिरहाका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
सिरहाको मिर्चैया(६ निवासी उनको सोमबार राति साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निगदेश सापकोटाले जानकारी दिनुभएको छ ।
सापकोटाका अनुसार उनलाई गत भदौं १० गते विराटनगरस्थित विराट मेडिकल कलेजबाट धरान रिफर गरिएको थियो। उच्च रक्तचाप र मधुमेहका समेत रोगी रहेका उनको ९ गते संक्रमण पुष्टि भएको थियो।
स्वासप्रस्वास समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो।