काठमाडौं । अध्यक्ष राजेन्द्र लिङ्देनपछिको दोस्रो वरीयताको उपाध्यक्ष बनेर विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्नुहुने भएको छ । राप्रपा र मिश्र निकट स्रोतहरुले उपाध्यक्षमा सहमति भइसकेको जनाएका छन् ।
राप्रपामा प्रवेशका लागि लामो समयदेखि संवादमा रहनुभएका मिश्रले सहअध्यक्षको दाबी गर्दै आउनुभएको थियो । राप्रपामा हाल ६ उपाध्यक्ष रहेका छन् । राप्रपाका ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्थामा विधान छ ।
राप्रपा महामन्त्री भुवन पाठकले मिश्र प्रवेशको घोषणा एकरदुई दिनमै हुने बताउनुभयो । संविधान दिवसको दिन मिश्रको पुस्तक 'विचारभन्दा माथि देश' सार्वजनिक हुँदैछ । तर त्यसमा संविधानको मुख्य विशेषता संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रमाथि प्रश्न उठाइएको छ ।
२०७४ सालको चुनावमा मिश्र काठमाडौं-१ बाट विवेकशील साझा पार्टीका उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्नुभएको थियो । त्यतिबेला उहाँ नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग ८१८ मतले पराजित हुनुभएको थियो ।
सिंहले १० हजार ९ सय ३६ मत पाउँदा मिश्रले १० हजार १ सय १८ मत पाउनुभएको थियो ।