काठमाडौं । होम आइसोशनमा बसेकी रुपन्देहीकी एक महिलासहित थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका – ५ की ६८ वर्षीया महिलाको गएराति मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेकी ती महिलाको गएराति मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले पुष्टि गर्नुभयो ।
भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको तिलोत्तमा नगरपाकिलाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
यस्तै, कोरोना संक्रमणबाट चितवनमा पनि थप एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको आज बिहान मृत्यु भएको हो ।
भरतपुर महानगरपालिका ६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको अस्पतालका डा.प्रमोद पौडेलले जानकारी दिनुभयो ।
भदौ २ गते सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।