काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान बाहिर आएपछि महाअभियोग सिफारिस समितिमा बयान रोकिन सक्ने आशंका व्यक्त गर्नुभएको छ ।
आज अपरान्ह गृह जिल्ला झापा जानुभएका ओलीले भद्रपुर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै सो आशंका व्यक्त गर्नुभएको हो । “गठबन्धन सरकारले अब महाअभियोगलाई अघि नबढाएर बयान बीचमै रोक्न सक्छ” उहाँले भन्नुभयो ।
जबराले महाअभियोग सिफारिस समितिमा बयान दिँदा त्यो समयमा भएको अनैतिक क्रियाकलाप र न्यायाधीशहरुसँगको लेनदेन भएको बिषय सार्वजनिक गरेकाले बयान रोकिन सक्ने उहाँले बताउनुभयो । “बयान बीचमै रोकियो भने अनौठो नमाने हुन्छ” उहाँले भन्नुभयो ।
प्रधानन्यायाधीश जबराबाट एकपछि अर्को पोल खुल्दै जाने भएपछि बयान रोकिन सक्छ अध्यक्ष ओलीले भन्नुभयो । ओली शनिवारसम्म आफ्नो निर्वाचन क्षेत्र दमकसहित झापाका बिभिन्न कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम रहेको छ ।