काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सिट बाँडफाँडमा भइरहेको ढिलाइका कारण गठबन्धन नहुने आशंका बढेको बताउनुभएको छ ।
अहिलेसम्म चार–पाँचपटक सिट बाँडफाँडकै लागि बैठक बसेपनि कुनै निश्कर्षमा भने पुग्न सकेको छैन अहिलेसम्मको अवस्था हेर्दा सहमतिमा पुग्न नसक्ने हो कि भन्ने आशंका बढेको नेता गुरुङको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले स्थानीय तहलाई मात्र आधार मानेर गठबन्धन हुनै नसक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचनलाई पनि हेर्न नसकिने होइन । तर दलहरु गठबन्धनमा लडेको स्थितिमा यकिन तथ्यांक कसैसँग पनि छैन । त्यसकारण स्थानीय तहमात्र हेर्ने वा सय सिट नै चाहिने बटमलाइन हो भने सहमति हुने देखिँदैन । मिले सहकार्य गने हो, नमिले आआफ्नो स्वतन्त्रता छँदै छ ।’
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्र छन् । तर, सत्ता गठबन्धनभित्रका पाँच दलले दुई सय ३४ सिटमा दाबी गरेका छन् । कार्यदलको बैठकमा नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जनता समाजवादी पार्टीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले २ सिटको दाबी पेश गरेका छन् ।
समानुपातिकतर्फको बन्दसूची पेस गर्ने समयसीमा तीन साता पनि बाँकी नरहेकाले गठबन्धनमा सिट बाँडफाँड चाँडै टुंग्याउनुपर्ने दबाब छ । तर, प्रत्यक्षतर्फकै बाँडफाँडमा किचलो हुने संकेत देखिएको छ ।
यद्यपि, गठबन्धनका नेताहरूले भने औपचारिक रूपमा आएको दाबीले सिट बाँडफाँडको आधार बनाएको र यसले सहमति खोज्न सहज हुने दाबी गर्दै आइरहेका छन् ।