काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले समान विचारधारा भएका राजनीतिक दलहरु विपरीत जाने कुराले लोकतन्त्रलाई विकृत बनाउने बताउनुभएको छ ।
बामपन्थीहरु एक भएर निर्वाचनमा गए बहुमत ल्याउने कुरामा कुनै शंका नरहेको नेता रावलको विश्वास छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले भन्नुभयो, ‘हाम्रो नेपालको संविधानबमोजिम पनि समान विचारधारा, दर्शनर कार्यक्रम भएका राजनीतिक दलहरु एक ठाउँमा आउने कुरा निर्देशित गरेको छ । त्यसको विपरीत जाने कुराले लोकतन्त्रलाई विकृत बनाउँछ ।’
यस्तै नेता रावलले नेकपा एमालेले बामपन्थीहरु एक हौँ भनेर गरेको निर्णय बामपन्थीहरुका बिचमा भएको अन्र्तविरोधहरुलाई व्यवस्थापन गरेर गयो भने निःशन्देह बहुमत ल्याउन मद्दत पुर्याउने बताउँदै यसको कार्यान्वयन कसरी हुन्छ भन्ने व्यवहारमा हेर्नुपर्ने बताउनुभयो ।
विचार धारा, सिद्धान्त र व्यहारमा फरक भए जनताले नपत्याउने बताउँदै नेता रावलले नेकपा एमाले देशव्यापी रुपमा शक्ती भएको पार्टी भएकाले नेपालको राष्ट्रिय हित हुने काम गर्नुपर्ने र गर्दै पनि आइरहेको स्पष्ट पार्नुभयो ।
एमालेले गरेको उम्मेदवार छनोटका मापदण्डहरु कार्यान्वय र लागु भयो भने आगामी निर्वाचनका लागि राम्रो हुने पनि नेता रावलको टिप्पणी छ ।
नेता रावलका अनुसार निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने उहाँले बताउनुभयो ।
कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य रहेका छन् ।
बैठकमा नजिकिँदै गरेको संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी विभिन्न योजना तय गर्ने तयारी छ ।