काठमाडौँ – नेपालमा कोरोना संक्रमणका कारण दृघरोगीहरुको मात्रै मृत्यु भइरहेको भ्रम पालेर नबस्न चिकित्सकहरुले चेतावनी दिएका छन्। कोरोना भाइरसले ज्येष्ठ नागरिक र दृघरोगीहरुलाई मात्रै आक्रमण गरिरहेको भन्ने गलत मानसिकता परित्याग गर्न उनीहरुको सुझाव छ।
पछिल्लो समय युवा उमेरका व्यक्तिहरुले आफूलाई कोरोना संक्रमण भइहाले पनि ठिक भैहाल्ने भ्रममा परी जनस्वास्थ्य मापदण्डको सही पालना नगरेको पाइएको भन्दै चिकित्सकहरुले त्यस्तो लापर्वाही नगर्न चेतावनी दिएका हुन्।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसले व्यक्तिको उमेर र रोग नहेरी आक्रमण गरिरहेकोले सबैले स्वास्थ्य सावधानी अपनाउनुपर्र्ने बताउनुभयो। उहाँले अहिले युवाअवस्थाका संक्रमितहरुको निको हुने दर धेरै भए पनि आफ्नो परिवार र समाजका लागि लापर्वाही भने गर्नै नहुने बताउनुभयो।
आफू निको भए पनि परिवारका अन्य ज्येष्ठ सदस्य अथवा रोगी व्यक्तिको मानवीय क्षति समेत हुन सक्ने भएकोले कोरोना संक्रमणलाई खेलाँची ठान्न नहुने उहाँको आग्रह छ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि ‘म बलियो छु र मलाई कोरोनाले आक्रमण गरिहाले पनि निको भैहाल्छ’ भन्ने भ्रममा नपरी जनस्वास्थ्य मापदण्डको सही पालना गर्न आग्रह गरेको थियो।
जनस्वास्थ्यविद तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले पनि कोरोना लागेपछि अस्पताल भर्ना हुनुपर्ने र ज्यानै समेत गुम्ने खतरा सबै संक्रमितमा हुन सक्ने सम्भावनालाई नकार्न नमिल्ने बताउनुभयो। दृघरोग भएका कोरोना संक्रमितहरुलाई त झनै जोखिम धेरै हुने भएकोले पर्याप्त सावधानी अपनाउनु उहाँले आग्रह गर्नुभयो ।
नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु भएका अधिकांश व्यक्तिहरुमा कुनै न कुनै गम्भीर खालका अरु रोगहरु पाइएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन्।
स्वतन्त्र अनुसन्धान नभएकै अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत नेपालमा कोरोना मात्रैका कारण ज्यान गुमेका व्यक्तिहरु निकै थोरै रहेको दाबी गर्दै आउनुभएको छ।
पछिल्लो समय ज्येष्ठ नागरिक र कमजोर स्वास्थ्य भएका व्यक्तिहरुको धमाधम मृत्यु भएको घटनालाई कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको रुपमा बुझ्नुपर्ने जनस्वास्थ्यविद डा. मरासिनीको भनाई छ। हिजो विदेशबाट आउने युवाहरुमा देखिएको कोरोना अहिले समाजमा फैलिएपछि कमजोर मानिसहरु निशानामा परेको उहाँको दाबी छ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि राजधानी काठमाडौँसहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। तर निषेधाज्ञा अथवा लकडाउन मात्रै कोरोना रोकथामको विकल्प नरहेको बताउँदै विज्ञहरुले परीक्षणको दायरा बढाउन सुझाव दिएका छन्।
तर सरकार ठूलो धनराशी बाहिरिने भन्दै अत्यावश्यक परेकालाई मात्रै पीसीआर परीक्षण गर्न आग्रह गरिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले निुुशुल्क गरिरहेको पीसीआर परीक्षणले ठूलो धनराशी विदेश जाने भन्दै अत्यावश्यक परेमा मात्रै परीक्षण गरिने बताउनुभयो।
नेपालमा कोरोना संक्रमणका कारण मानिसहरुको मृत्यु हुने क्रम दिनदिनै बढिरहेको छ । तर सरकार कहिले १० दिनपछि पीसीआर नगरेरै संक्रमितलाई घर पठाउने भनिरहेको छ भने कहिले पीसीआर परीक्षणका लागि दबाब नदिन चेतावनी दिइरहेको छ ।