Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सामर्थ्य भन्दा महत्त्वकांक्षा बढी, होला त भागबण्डामा सहमति ? (खास खबर)

सामर्थ्य भन्दा महत्त्वकांक्षा बढी, होला त भागबण्डामा सहमति ? (खास खबर)

  • शुक्रवार, भाद्र १० २०७९

  • 671
    SHARES

  • सामर्थ्य भन्दा महत्त्वकांक्षा बढी, होला त भागबण्डामा सहमति ? (खास खबर)

    काठमाडौं । पाँचदलीय गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउन छलफल जारी राखेको छ । आगामी निर्वाचनमा तालमेल गरेर जाने सहमति भएसँगै सिट बाँडफाँटको विषय पेचिलो बनेको हो । प्रतिनिधिसभाको १ सय ६५ सिटमा विभिन्न दलले ठुलो महत्त्वकांक्षा  राखेपछि बाँडफाँट निकै सकसपूर्ण बन्दै गएको छ । 

    विभिन्न उद्देश्य, सिद्धान्त बोकेका पार्टीहरू एकै छहारीमा आएपनि भागबण्डा मिलाउन भने चुनौतीपूर्ण नै देखिएको छ । गठबन्धन कार्यदलका दलहरूले २ सय २७ सिटमा दाबी पेस गरेका छन् । जसमा नेपाली कांग्रेसले एकसय सिटमा दाबी पेस गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले २५ र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेको छ ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको निर्वाचनको नजिर स्मरण गर्दै गठबन्धन समयको माग भएको बताउनुभयो । दुवै पक्ष लचिलो भएर जानका निम्ति तयार हुनुपर्ने उहाँको भनाइ छ । 

    प्रारम्भिक चरणमा केही सकस देखिएपनि सबै दलहरू अन्तिममा लचिलो भएरै जानुपर्ने कांग्रेस नेता एनपी साउँदको तर्क छ । सानोतिनो कुरालाई समझदारी गर्दै सार्थक समाधान दिनुपर्नेमा उहाँको जोड छ । 

    पार्टी मिलाउन अप्ठ्यारो भइरहेका बेला कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन मिलाउन चाँसो देखाइरहनुभएको छ । गठबन्धनमा तालमेल गरे मात्रै केही स्वार्थ पनि पूरा हुने देउवाको भित्री ठहर छ । राजनीतिक चातुर्यता बोकेका देउवाले पार्टीभित्रको विवादलाई हलुका रुपमा लिएका छन् । 

    यता, कार्यदलमा विभिन्न पार्टीले आआफ्नो दाबी प्रस्तुत गरेपनि जनता समाजवादी पार्टीले भने उचित व्यवस्थापनको माग मात्रै अगाडि सारेको पार्टीका प्रवक्ता मनिष सुमनले बताउनुभयो । २०७४ सालको निर्वाचन र स्थानीय तहको निर्वाचनको परिणामका आधारमा सिट बाँडफाँट हुनुपर्ने उहाँको तर्क छ । 

    कार्यदलका सदस्य समेत रहनुभएका सुमनले पूर्वदेखि पश्चिमसम्मको नामावली तयार भइरहेको बताउँदै छिट्टै शीर्ष नेतालाई बुझाइने बताउनुभयो । 

    लोकतन्त्र र संविधानको रक्षार्थ  स्थापना भएको गठबन्धनले सिट भन्दा पनि सहमतिलाई जोड दिनुपर्ने नेताहरूको तर्क छ । 


    शुक्रवार, भाद्र १० २०७९०८:२६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij