काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले राष्ट्रपतिले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताउनुभएको छ ।
राष्ट्रपतिले नागरिकता विधेयकबारे संविधान र संसदको अध्ययन गरिरहेकाले अहिले नै राष्ट्रपतिले राजीनामा दिने कारण केहि नरहेको स्पष्ट पार्नुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले एकीकृत गठबन्धन, समाजवादीको अस्तित्व रक्षा र माओवादी केन्द्रको सत्ता जोागाउन जे पनि गर्न तयार रहेको आरोप समेत लगाउनुभयो ।
यस्तै उहाँले संविधान संशोधन गर्न संसद्लाई चुनौती दिदैँ संसदले पारित गरेको विधेयक संविधानसँग बाझिएको दाबी गर्नुभयो । राष्ट्रपतिका लागि सरकारभन्दा संविधान ठूलो कुरा रहेको बताउँदै यादवले भन्नुभयो, ‘संविधानको भाग २ को धारा १० (२) र धारा ३८ बमोजिम नागरिकता विधेयक मिलेको छैन । राज्यव्यवस्था समितिका सदस्यले आएर गुनासो गरेका छन् । समितिमा देव गुरुङले १५ वर्ष राखेको होइन ? मुलुक ठूलो कि गठबन्धन ठूलो ? सरकारमा बस्न जे पनि गरिदिने ?’
तपाईं तराई–मधेसको भएर पनि किन नागरिकता विधेयकको विरोधमा भन्ने पत्रकार धमलाको प्रश्नमा डा. यादवले भन्नुभयो, ‘मधेस नेपालको भूभाग हो । म नेपाली मधेसी हुँ । नागरिकता विधेयक तराई–मधेसका लागि मात्र हो भने हौवा पिटाइएको छ । त्यहाँ नागरिकता नपाउने ३५ देखि ४० हजार मात्र छन् । एमाले मधेसविरोधी हो कि एमालेले नै जानोस् ।’