काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद यज्ञराज सुनुवारले सरकार बिचौलियाहरूबाट कमाउने धन्दामा लागि परेको आरोप लगाउनुभएको छ। आइतबार(आज) प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले नेताहरू चुनावका लागि चन्दा संकलनमा व्यस्त रहेको, कर्मचारीहरू कमिसनमा चलेको, ठेकेदारहरू कामै नगरी कमाउने धन्दामा लागेको भन्दै आपत्ति समेत जनाउनुभयो।
सांसद सुनुवारले ढिलासुस्ती र कमजोर काम गर्ने ठेकेदारहरूलाई कारबाही हुने गरी कानुनी व्यवस्था गर्न तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्न पनि सरकारलाई दबाब दिनुभयो । आफूले प्रतिनिधित्व गरेको ओखलढुंगा जिल्लामा समेत विकास, निर्माणका कामहरूमा ढिलाइ रहँदा पनि सरकारले कुनै चासो नदिएको उहाँको गुनासो थियो ।
सांसद सुनुवारले भन्नुभयो, ‘सरकार बिचौलियाहरूबाट कमाउन व्यस्त छ । नेताहरू चुनावका लागि चन्द संकलनमा मस्त । कर्मचारीहरू कमिसनमा रमाउने, अनि ठेकेदारहरू काम नगरी कमाउने । आजको मुलुकको अवस्था, मुलुकका थिति यहाँ पुगेको छ भन्ने कुरा समाजमा उठ्न थालेको छ ।’
सांसद सुनुवारले ढिलासुस्ती र कमजोर काम गर्ने ठेकेदारहरूलाई कारबाही हुने गरी तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्न सरकारसँग माग गर्नुभयो । आफूले प्रतिनिधित्व गरेको ओखलढुंगा जिल्लामा समेत विकास, निर्माणका कामहरूमा ढिलाइ भइरहँदा पनि सरकारले कुनै चासो नदिएको उहाँको गुनासो छ । उहाँले पुलपुलेसाहरूको आवश्यक व्यवस्था सरकारले मिलाउन नसक्दा जनता मारमा परिरहेको बताउनुभयो ।