काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समयमै परीक्षा नलिने र नतिजा प्रकाशन नगर्ने हो भने नेपालको शिक्षा प्रणाली बेथितीमा जाने बताउनुभयो ।
शनिबार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजासम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न कारण देखाएर समयमै काम नगर्ने हो भने शिक्षा प्रणाली बेथितिमा जाने बताउनुभएको हो ।
‘विभिन्न कारण देखाएर समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने बेथितीमा शिक्षा प्रणाली जान्छ । देशभरका शिक्षकलाई गाली गरेर शिक्षाको सुधार हुँदैन । उहाँहरूलाई तालिम दिने हो । नेपालको शिक्षा खत्तम छ भनेर आफैं प्रचार नगरौं’ उहाँको भनाई छ ।
मन्त्री पौडेलले इच्छाशक्ति भए सबै ठाउँमा शैक्षिक गुणस्तरको सुधार गर्न र विद्यार्थीलाई सक्षम बनाउन सकिने बताउनुभयो ।
‘हाम्रै छोराछोरी पढ्ने हुन् र हामी नै के भनिरहेका छौं भने हाम्रो शिक्षा खत्तम छ, क्वालिटीको छैन, विद्यालयहरू राम्रा छैनन् भनिरहेका छौं । यो हामीले अन्त्य गर्नुपर्छ । यो सक्छौं र सक्नुपर्छ’ उहाँले भन्नुभयो।
मन्त्री पौडेलले शिक्षा सेवाको क्षेत्र भएकोले सेवा सुविधा पाइनँ भनेर पढाउन छोडेर आन्दोलन गर्न जान नमिल्ने पनि बताउनुभयो । उहाँले बाहिरबाट एसइई नतिजा सकारात्मक देखिए पनि भित्री पाटोबाट हेर्दा सन्तुष्ट हुने ठाउँ नरहेको समेत दाबी गर्नुभएको छ ।