काठमाडौं । आईएमई पेले शेयर लगानीकर्ताका लागि टिएमएसमार्फत गर्ने कारोबारको भुक्तानी सेवा संचालनमा ल्याएको छ।
यससँगै शेयर लगानीकर्ताले आफ्नो टिएमएसमार्फत आइएमई पे छनौट गरी आफूले ब्रोकरलाई शेयर खरिद गरेबापत गर्नुपर्ने भुक्तानी साथै शेयर खरिद गर्न चाहिने धितो रकम (कोल्याट्रल) लोड गर्न सक्ने कम्पनीले जनाएको छ।
हाल यो सुविधा ३५ वटाभन्दा बढी ब्रोकरहरूमार्फत हुने कारोबारको भुक्तानीका लागि उपलब्ध रहेको आईएमई पेले विज्ञप्तिमा उल्लेख गरेको छ। आगामी दिनमा बाँकी ब्रोकरहरू पनि यस सेवामा थपिने कम्पनीको भनाइ छ।
टिएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आइएमई पे रोजेर सजिलै कारोबार गर्न सकिने हुँदा यसले सेयर कारोबार गर्ने सबैलाई थप सहज हुने बताइएको छ। साथै, भुक्तानी सेवा प्रदायक यसरी टिएमएसमा जोडिनुले नेपालको शेयर बजारलाई डिजिटाइज गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले बताउनुभएको छ।
यो भुक्तानी रियल–टाईममा हुने भएकोले ब्रोकर तथा शेयर लगानीकर्ता दुवैले ढुक्कै कारोबार गर्न सक्ने दाबी गरिएको छ । यो सुविधा प्रयोग गर्ने शेयर लगानीकर्तालाई हालका लागि निःशुल्क सेवा पाउने जनाइएको व्यवस्था मिलाइएको छ।