काठमाडौं । माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभामा प्रमुख सचेतक देव गुरुङले संसद्को पुरै पाँच वर्ष कार्यकाल रहने ऐन बनाउन माग गर्नुभएको छ । बुधबार(आज) प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरुङले मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा भएपनि प्रतिनिधिसभाको कार्यकालको बारेमा बहस उठेको बताउनुभयो ।
उहाँले प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष हुने भनेर संविधानको धारा ८५ को १ ले भनेको उल्लेख गर्दै सर्वोच्च अदालतको आदेशले पनि संसद्को समयावधि ५ वर्षभन्दा कम घटाउन नहुने भनेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो–‘यो मध्यावधि चुनाव पनि हैन । संविधानको धारा ७६ को ५ अनुसार सरकार विफल भएर चुनाव भएको पनि हैन । त्यसैले यो निर्वाचन कार्य तालिकाका लागि एउटा ऐनको आवश्यकता पर्दछ । संसद्को कार्य अवधि राख्ने बारेमा पनि एउटा ऐनको आवश्यकता पर्दछ । त्यस कारण छिटोभन्दा छिटो सरकारले विधेयक ल्याओस् । संविधानले संसद्को रिक्तताको परिकल्पना गरेको छैन । अहिलेको परिस्थितिले रिक्तताको सम्भावना छ । यस्तो अवस्थामा मुलुकमाथि एउटा गम्भीर संकट पैदा हुनसक्छ ।’ उहाँले छिटो भन्दा छिटो ऐन ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।