सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तिन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको आज मृत्यु भएको हो भने सिरहाका एकजना पुरुषको हिजो साँझ मृत्यु भएकोे प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभएको छ ।
आज बिहान मृत्यु भएका ८३ वर्षीय पुरुष बी एण्ड सी टिचिङ अस्पताल विर्तामोड झापाबाट रिफर भएर धरानस्थित प्रतिष्ठानमा आएका थिए । उनमा अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । उनमा भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी, आजै मृत्यु भएकी ५६ वर्षीया महिला कोशी अञ्चल अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा आएकी थिइन् । उनमा पनि ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । ती महिलामा यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै ,सिरहा नगरपालिकाका २ का ५५ वर्षीय पुरुषको पनि हिजो साँझ सोही अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुने पुरुष मुटु, उच्च रक्तश्राप र मधुमेहको दिर्घरोगी भएको सापकोटाले जानकारी दिनुभएको छ ।
तीनै जनाको शव व्यवस्थापनका लागि आवश्यक पहल भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिनुभयो ।