काठमाडौँ । अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै भारतबाट नेपाल भित्रिएको सलहले एक सातामै दाङ, प्यूठान, मकवानपुर, अर्घाखाँची र पाल्पा जिल्लामा लगाइएको बालीमा बढी क्षति पु¥याएको छ । सलहले मकै, तरकारी, फलफूल र भटमास गरी ती जिल्लामा मात्रै करिब ११ सय १८ हेक्टरमा क्षति पु¥याएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।
केन्द्रले जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय तहको समन्वयमा अन्य जिल्लाको क्षतिको विवरण संकलन गरिरहेको बताएको छ । केही जिल्लामा सलह बसे पनि क्षति सामान्य नै छ रहेको अनुमान केन्द्रको छ । खेतमै गएर हेर्दा प्रतिशतमा सामान्य भिन्नता आए पनि क्षेत्रमा फरक नआएको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताउनुभयो ।
दाङमा मकै तथा तरकारी बाली गरेर ५ सय ८० हेक्टरमा क्षति पु¥याएको छ । दोस्रोमा प्यूठानमा क्षति पुगेको केन्द्रले तयार पारेको विवरणमा उल्लेख छ । सलहले प्यूठानमा मकै, फलफूल, तरकारी तथा भटमास बाली गरेर २ सय ८३ हेक्टरमा सामान्यदेखि मध्यम क्षति पु¥याएको छ ।
केन्द्रका अनुसार प्यूठानमा केही संख्यामा सलह अझै सक्रिय छन् । केही सलह भने उत्तरतर्फ लागेका छन् । कृषि ज्ञान केन्द्र, जिल्ला एवं स्थानीय तहबाट थप अध्ययन र विवरण संकलन भइरहेको छ ।
मकवानपुरमा सलहले मकै र तरकारी गरी १ सय ५ हेक्टरमा क्षति पु¥याएको छ । त्यहाँका क्षति पनि सामान्य र मध्यमस्तरका छन् । केन्द्रले यसअघि १ हजार हेक्टरभन्दा बढी क्षेत्रफल सलहले कब्जा गरेको बताउँदै आएको थियो । तर सलहका झुन्ड छुट्टिएपछि क्षति कम भएको केन्द्रको दाबी छ ।
केन्द्रका अनुसार सिन्धुलीमा मकैमा सामान्य क्षति भएको छ । अर्घाखाँचीमा मकै तथा तरकारी गरेर एक सय हेक्टरमा क्षति पु¥याएको छ । पाल्पामा पनि मकै र तरकारी बालीमा ५० हेक्टर क्षति भएको छ । रोल्पामा मकैमा सामान्य क्षति भएको छ ।
केन्द्रका अनुसार साना तथा ठूला समूह गरी ५२ जिल्लामा सलह देखिएको छ । प्रायः जिल्लामा छरिएरका स–साना झुन्ड रहेकाले उल्लेख्य क्षति नभएको केन्द्रले जनाएको छ । विवरणअनुसार असार १३ मा नेपाल प्रवेश गरेको सलह फैलिने क्रम जारी छ । उक्त दिन बारा–पर्साबाट करिब १२ देखि १५ लाखको संख्यामा प्रवेश गरेको सलह अहिले बारा, पर्सा, रौतहट, मकवानपुर हुँदै चितवन पुगेको छ ।
१३ गते नै सर्लाहीबाट करिब ८ देखि १० लाखको संख्यामा भित्रिएको सलह सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोटसम्म पुगेको छ । सोही दिन रूपन्देहीबाट करिब १२ देखि १५ लाख संख्यामा भित्रिएको सलह रूपन्देही, कपिलवस्तु, पाल्पा, स्याङ्जा, कास्की, लमजुङ हुँदै गुल्मीसम्म पुगेको छ ।
१४ गते कपिलवस्तुबाट ८ देखि १० लाखको संख्यामा प्रवेश गरेको सलह कपिलवस्तु, अर्घाखाँची, दाङ, प्यूठान, रोल्पा र रुकुममा पुगेको छ । १५ गते २० देखि २५ लाखको संख्यामा रूपन्देहीमा प्रवेश गरेको सलह रूपन्देही, अर्घाखाँची, दाङ, प्यूठान र रोल्पासम्म पुगेको छ । १६ गते करिब २ हजारको संख्यामा डडेलधुराबाट छिरेर त्यहाँ बसेको छ । सोही दिन आठदेखि १० हजारको संख्यामा कैलाली प्रवेश गरेको सलह पनि त्यतै बसिरहेको छ ।