काठमाडौं । कोशी नदीमा भीषण बाढी आएपछि हाई अलर्ट जारी गरिएको छ । पानीको ठुलो बहाव वराहक्षेत्रमा देखिएको र कोशीमा बाढीको मात्रा बढ्दै गएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
शनिवार दिउँसो १ बजेसम्म पानीको बहाव मापन गर्दा २ लाख १० हजार क्युसेक बहाव रहेको उहाँले बताउनुभयो ।
बाढीको मात्रा बढ्दै आएपनि सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको कोशीको पूर्वी भागमा तत्कालै प्रभाव नपार्ने उहाँले बताउनुभयो ।
कोशीको श्रीलङ्का टापुमा भने जोखिम बढाएको र सो क्षेत्रमा बाढीले असर बढेमा उद्धारका लागि स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मी निरन्तर सम्पर्कमा रहेका छन् । बाढीको जोखिम धेरै रहेको स्थानमा तत्काल उद्धारका लागि संयन्त्र व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।
कोशी ब्यारेजले ९ लाख क्युसेक पानीको वहाव धान्न सक्ने बताइए पनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्युसेक माथिको बहावलाई प्राविधिकहरूले सम्भावित जोखिमका रुपमा लिने गरेका छन् । बराह क्षेत्रमा देखिएको पानी कोशी ब्यारेजको मापनमा आइपुग्दा ५ लाख क्युसेकको हाराहारीमा पुग्न सक्ने अनुमान गरिएको छ ।