काठमाडौं । चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा.गोविन्द केसीले आजदेखि घोषणा गर्नुभएको सत्याग्रह एक हप्ता पछि सार्नुभएको छ । हाल जुम्लामा रहनुभएका केसीले स्थानीय प्रशासनको विशेष आग्रहमा सत्याग्रह एक हप्ता पछि सारेको जानकारी दिनुभएको छ ।
गत साउन ११ गते नै आफ्नो ४ बुँदे माग सार्वजनिक गर्नुभएका केसीले ती माग पूरा नभए भदौ ११ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गर्नुभएको थियो । डा. केसीले झन्डै एक महिनाको समय दिंदा पनि सरकारले माग पूरा गर्न कुनै कदम नचालेको विज्ञप्तिमार्फत् जनाउनुभएको छ ।
यसअघि भएका सम्झौता कार्यान्वयन गर्न तथा जायज माग पूरा गर्न सरकारले कोरोना महामारीको वहाना बनाइरहेको डा. केसीको आरोप छ ।
केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रम संचालन गर्न, प्रधानमन्त्रीले नाजायज रुपमा रोकिराखेको उक्त प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्न र गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गर्न डा. केसीले माग गर्नुभएको छ ।