काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गर्दा मृत्युदर समेत बढेको छ । पछिल्लो २४ घण्टा नबित्दै थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–७ कि ७० वर्षीया महिलाको मृत्यु भएको हो ।
वृद्धाको आज बिहान साढे १० बजे कोभिड आईसीयू कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, बाराकी कोरोना संक्रमित एक गर्भवती महिलाको आज बिहान नारायणी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार बाराको हर्दियानिवासी २३ वर्षीया महिलाको मृत्यु भएको हो ।
उता, पोखरामा उपचारका क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पताल निर्देशक डा. अर्जुन आचार्यका अनुसार पोखरा महानगरपालीका ११ निवासी ३२ वर्षीया महिलाको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । उनलाई ७ गते अस्पतालको आइसियुमा भर्ना गरिएको थियो ।
यता, ललितपुरको किस्ट अस्पतालमा उपचाररत अर्घाखाँचीका ५५ वर्षीय कोरोना संक्रमितको पनि मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर गत ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार संक्रमणको कारण ती पुरुषको दुवै छातीमा संक्रमण भएको थियो भने उनलाई निमोनिया पनि भएको थियो ।
यस्तै, वीरगन्ज महानगरपालिका–१४ बहुअरीका ६२ वर्षीय पुरुषको आज बिहान नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको छ । चिकित्सकका अनुसार कोरोना र मिर्गौलाका बिरामी रहेका उनको अस्पतालमै नियमित डायलसिससमेत भइरहेको थियो । गत साउन ३० मा उनी कोरोना अस्पतालमा भर्ना भएका थिए ।
यसअघि गयराति नारायणी अस्पतालमै एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । पर्साको धोबनी गाउँपालिका–३ गुलरियाका ७२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिनुभएको छ ।
बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा पनि थप एकजना संक्रमितको पनि मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा गयराति मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभएको छ ।