काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ ।
अध्ययन टोलीले देशका विभिन्न ठाउँमा श्रम अस्पताल निर्माणका लागि आवश्यक पर्ने स्रोत साधनको सम्भाव्यता अध्ययन गरेर ३५ पृष्ठ लामो प्रतिवेदन आइतबार मन्त्री कुँवरलाई बुझाएको हो ।
अध्ययन टोलीले तयार पारेको प्रतिवेदनमा श्रमिक अस्पतालको आवश्यकता, स्थापनाका उद्देश्य, औचित्य, नेपालमा अस्पताल निर्माणमा भएका प्रयास, कार्यदेश, स्रोत व्यवस्थापन, सम्भाव्यता र चुनौतीहरु उल्लेख गरेको छ ।
कार्यदलले अस्पताल निमार्णका लागि विराटनगर, बारा र भैरहवामा स्थलगत छलफल, अध्ययन र अनुगमन समेत गरेको थियो । नेपालमा श्रमिक अस्पतालको आवश्यकता महसुस गरी सोही आधारमा कार्यदलले अस्पताल निमार्णका लागि १३ वटा सुझावहरु दिएको छ ।
कार्यदलका अनुसार अस्पताल निमार्णका लागि करिब २० अर्ब लागत लाग्ने छ । ५ सयदेखि १ हजार बेड भएको अस्तपाल निमार्णका लागि १० बिगाह जग्गा आवश्यक पर्ने भएपनि दीर्घकालीनसम्मका लागि २५ बिगाहसम्म जग्गा उपयुक्त हुने कार्यदलको ठहर छ ।
तर, जग्गाकै कारण निमार्ण कार्य रोक्न नहुने र अहिलेलाई ५ बिगाह जग्गा उपलब्ध भएको ठाउँमा पनि अस्पताल निमार्ण कार्य सुरु गर्नु पर्ने कार्यदलले सुझावमा पेश गरेको छ ।
कार्यदलले श्रमिक अस्पताल स्थापनका लागि कुन स्थान उपयुक्त हुन्छ भन्नेबारेमा खोजी र अस्पताल सञ्चालन विधिका बारेमा विभिन्न निकायको परामर्श र सुझावलाई प्रतिवेदनमा उल्लेख गरेको छ ।
नेपाल सरकारले २०७८ फागुन ५ को मन्त्रिपरिषद् बैठकबाट नेपालमा श्रमिक अस्पताल स्थापनाको काम अघि बढाउने निर्णय गरेको थियो । यसका लागि श्रम मन्त्रालयलाई जिम्मेवारी दिइएको थियो ।