काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई दोस्रो पार्टी बनाउनेगरी मात्रै तालमेल गर्नुपर्छ भन्ने प्रचण्डको अभिव्यक्ति गलत भएको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो राजधानीमा आयोजित एक कार्यक्रममा आगामी निर्वाचनमा आफ्नो पार्टी दोस्रो बन्ने र देशको बागडोर आफ्नो हातमा लिने गरी अगाडि बढेको बताउँदै यसमा नेपाली कांग्रेसले साथ दिनुपर्ने बताउनुभएको थियो । यहि प्रसंगमा मन्त्री श्रेष्ठले पहिलो बनाउने की दोस्रो पार्टी बनाउने भन्ने कुरा लोकतान्त्रिक विधि अनुसार हुने र जनताले निर्णय गर्ने कुरा भएको बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री श्रेष्ठले इमानदारीपूर्वक हुनुपर्ने, पार्टीको शक्ती र उम्मेदवारहरुको प्रभाव र व्यक्तित्व हेरेर तालमेल हुने कुरामा जोड दिनुभयो ।
यस्तै मन्त्री श्रेष्ठले तालमेल गर्दा आफ्नो पार्टीलाई कसरी जनतामाझ पहिलो बनाउने र आफ्नो निती, विचार र सिद्धान्त अनुरुप देशलाई अगाडि बढाउने भन्नेतर्फ सबैको ध्यान हुने भएकाले अहिले नै पहिलो दोस्रो भन्ने भन्दा पनि इमानदारीपूर्वक र देशको विकाशको लागि अगाडि बढनुपर्ने स्पष्ट पार्नुभयो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता समेत रहनुभएका मन्त्री श्रेष्ठले आगामी निर्वाचनमा पनि तालमेल रहने बताउनुभयो ।