सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार धनगढीमा आज भएको परीक्षणमा ९ महिला र ३० पुरुष गरी ३९ जनामा कोरोना पुष्टि भएको हो ।
कैलालीको गोदावरी नगरपालिकाका १० जना, डोटीको आर्दश गाउँपालिकाका १० जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बैतडीको मेलौलीका तीन जना, मंगलसेन अछामका दुई जना, चुरे गाउँपालिका कैलालीका दुई जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, बैतडीको पुर्चौडी नगरपालिका, बझाङको छब्बिस पाथिभेराका, डोटीको शिखर नगरपालिका, केआइसिंह गाउँपालिका र कैलालीको टीकापुरका एकरएक जनामा कोरोना पुष्टि भएको छ । यस्तै गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज संक्रमण पुष्टि हुनेमा १९ जना नवलपरासीका छन् । कावासोती नगरपालिकाका २२ देखि ४९ वर्ष उमेर समूहका ११ जना पुरुषमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ
कावासोती नगरपालिकाकै २३, २६ र ४० वर्षका ३ जना महिलामा पनि संक्रमण भेटिएको छ । नवलपरासीकै मध्यविन्दु नगरपालिकाका १० देखि ३३ वर्ष उमेर समूहका ४ जना पुरुष र ३० वर्षीय महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, तनहुँमा ९ जनामा कोरोना पुष्टि भएको छ । तनहुँको भिमाद र ऋषिङ गाउँपालिकामा संक्रमितको संख्या थपिएको हो ।
भिमाद नगरपालिकाका २२ र २४ वर्षको २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । ऋषिङ गाउँपालिकाको २३ देखि ४७ वर्ष उमेर समूहका ७ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, पर्वतको बिहादी, पैयूँ र फलेबास नगरपालिकामा २९, १८ र ३४ वर्षका ३ पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । त्यस्तै बागलुङको जैमिनी नगरपालिकामा पनि २१ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।