काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा ब्यानरसहित नाराबाजी गरेर चर्चामा आएका युवक अर्जुनराज पौडेल दोस्रोपटक पक्राउ परेका छन् ।
यसअघि घटनास्थलबाटै पक्राउ परेका उनी छुटेलगत्तै फेरि हिरासत पुगेका हुन् । एउटा अनलाइनसँगको अन्तर्वार्तामा आपत्तिजनक अभिव्यक्ति दिएका कारण उनी पक्राउ परेको प्रहरी स्रोतले बताएको छ ।
सो अन्तर्वार्तामा उनले मुलुकको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै आफूले चाहे प्रधानमन्त्रीलाई एक मिटर नजिकबाट सुट गर्न सक्ने दाबी गरेका थिए । आफूहरू प्रधानमन्त्री देउवालाई च्यालेन्ज गर्दै ब्यानर देखाउन पुगेको उनले अन्तर्वार्तामा बताएका छन् ।
कमलादीमा आयोजित कार्यक्रममा नागरिकता विधेयकको विरोध गर्दै नाराबाजी गरेका तीन जना युवा पक्राउ परेका थिए । तीनैजना पछि छुटे पनि पौडेल फेरी पक्राउ परेका हुन् । उनलाई बुधबार साँझ बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।