काठमाडौं । प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित भएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले खुसी व्यक्त गरेको छ । संघका उपाध्यक्ष आरके शर्माले लामो समयपछि सरकारले माग सम्बोधन गरेको भन्दै खुसी व्यक्त गर्नुभएको हो ।
विधेयक पारित भएसँगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने शर्माको भनाइ छ । संघको स्थापनाकालदेखि नै गैरआवासीय नेपाली संघले प्रवासी नेपालीहरूसँग रहेको सीप, स्रोत र पूँजी नेपालको हित र उन्नतिमा परिचालन गर्न जोड दिँदै आएको शर्माले स्मरण गर्नुभयो ।
उपाध्यक्ष शर्माले विदेशबाट भित्रिने रेमिट्यान्स अनुत्पादक क्षेत्रमा गइरहेकोप्रति दुःख व्यक्त गर्नुभयो । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै उहाँले विदेशबाट धेरै आयात हुने पेट्रोल, डिजेल, ग्यासलाई कम गर्न स्वदेशमै विद्युत उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । एनआरएनले मेघा प्रोजेक्टमा लगानी गर्न चाहिरहेको बताउँदै उहाँले सरकारले लगानीको वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
भर्खरै पारित भएको नागरिकता विधेयकअनुसार विदेशमा रहेका कुनै पनि नेपालीका बाबु–आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन् । तर, सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन् ।