काठमाडौं । कोरोना संक्रमणबाट बाँके र विराटनगरमा २ जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार ३७ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका–१ का ती पुरुष सामान्य रुघाखोकी देखिएपछि सोमबारदेखि अस्पताल उपचार गराइरहेका थिए ।‘रुघाखोकी लागेर अस्पताल पुग्नुभएको रहेछ । राति १ बजेर ३० मिनेटमा मृत्यु भएको हो,’प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्घले भने । योसँगै बाँकेमा पाँच जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
उता, विराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणका कारण मंगलबार राति मृत्यु भएको छ। मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा राति ८ बजेतिर श्रेष्ठ थरकी महिलाको मृत्यु भएको हो।
श्वासप्रश्वासमा समस्या भएपछि संक्रमित महिलालाई दिउँसो उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका अनुसार विराटनगर –१५ मिल्स एरिया घर भएपनि मृतक महिला विराटनगर–११ स्थित माइतीमा बस्दै आएको खुलेको छ।
स्वाब संकलन गरेर कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट महिलाको मृत्यु हुनुभन्दा केही बेरअघि मात्रै पोजेटिभ आएको थियो।