चितवन । चितवनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार सय नाघेको छ । पछिल्लो समय संक्रमितको संख्या बढिरहेको छ ।
भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशालामा भएको परीक्षणमा मंगलबार मात्रै थप ४४ जनामा संक्रमण पुष्टि भएको छ । तिनमा ४० जना चितवनका छन् ।
प्रयोगशालाले राति १२ बजे सार्वजनिक गरेको विवरणमा भदौ ९ गते परीक्षण भएका २ सय १८ नमुनामध्ये ४४ वटामा संक्रमण पुष्टि भएको जनाएको हो ।
तिनमा भरतपुर महानगरपालिकाका २० महिलासहित ३६ जना छन् । चितवनकै रत्ननगर नगरपालिकाका दुई महिलासहित तीन जना र खैरहनी नगरपालिकाका एक पुरुषमा संक्रमण देखिएको प्रयोगशालाले निकालेको सुचनामा उल्लेख छ । बाँकी चार जनामा नवलपुर, रुपन्देही, तनहुँ र धनुषाका एक–एक जना छन् । उनीहरुको भरतपुरकै अस्पतालहरूमा स्वाब संकलन भएको थियो ।
भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले मंगलबार दिउँसो जारी गरेको सूचनामा चितवनमा कुल संक्रमितको संख्या चार सय पुगेको उल्लेख थियो । त्यसपछि राति थपिएका समेत जोड्दा संक्रमितको संख्या ४ सय ४४ पुगेको छ ।
संक्रमितमध्ये १२६ जना मात्रै निको भएर घर फर्केका छन् । चितवनकै तीन जना र बाहिरी जिल्ला घर भएर उपचार गराउन भरतपुर आएका थप तीन जनाको निधन भएको छ ।