काठमाडौं। सरकारले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधान गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले समस्या समाधान गर्नका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने प्रक्रिया अघि बढाइएको बताउनुभएको हो ।
स्वास्थ्य बीमा कार्यक्रम रोकिएको भन्दै सरकारको चौतर्फी विरोध भइरहँदा मन्त्री खापुङले ती समस्या समाधानका लागि मन्त्रिपरिषदमा तत्काल प्रस्ताव लैजानेगरी प्रक्रिया अघि बढाइएको बताउनुभएको हो ।
शुक्रबार संघीय संसद् प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा यो बीमालाई सरकारी र सामुदायिक अस्पतालबाट मात्रै संचालन गर्ने व्यवस्था गरेको बताउनुभयो ।
त्यसलाई सांसदले पनि पारित गरेकाले अहिले त्यसको संचालनमा समस्या आएको उनको भनाइ छ । त्यस सम्बन्धमा बीमा बोर्डले पनि के गर्ने भनेर मन्त्रालयलाई सोधेकाले त्यसमा देखिएको समस्या समाधान गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजान उपयुक्त हुने भएकाले सोही अनुसार गर्न लागिएको उनको भनाइ छ।
मन्त्री खापुङले प्राइभेट क्षेत्रको सहभागिताबिना स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी नहुने सुझाव सबैतिरबाट आएकाले सरकार सोही अनुसार अघि बढने धारणा पनि राख्नुभएको छ ।