काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)को उपचारका लागि सातवटै प्रदेशमा भेन्टिलेटर र आइसीयु बेड थप्न बजेट निकासा गरेको छ ।
स्वास्थ्य मन्त्रालयले प्रत्येक प्रदेशमा २–२ जिल्ला छनोट गरेर भेन्टिलेटर र आइसीयु बेड निर्माण गर्नका लागि २–२ करोड बजेट निकासा गरेको संसदीय ससमितिलाई जानकारी दिएको छ ।
प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको आजको भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले प्रत्येक प्रदेशका २–२ जिल्लामा ४ भेन्टिलेटर र १० आइसीयु बेड निर्माण गर्न बजेट निकासा भएको जानकारी दिनुभयो ।
कोरोनाको संक्रमण तीव्र रूपमा फैलिएको प्रदेश –२ मा २३ जना विशेषज्ञ चिकित्सकलाई पठाउन लागिएको पनि पोखरेलले जानकारी दिनुभयो ।
पोखरेलले काठमाडौं उपत्यकामा कन्ट्याक्ट ट्रेसिङको कामलाई स्थानीय तहको समन्वयमा अगाडि बढाउन लागिएको बताउनुभयो ।
मुलुकभर एक हजार ७५ टोली पठाइएको बताउँदै पोखरेलले संक्रमण बढी भएका ठाउँमा ट्रेसिङ गर्ने टिम थपिँदै जाने बताउनुभएको छ ।
काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिने र कन्ट्याक्ट ट्रेसिङको कामलाई मन्त्रालयले तीव्रता दिइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
आगामि ४० दिनमा ५० हजार व्यक्तिमा कन्ट्याक्ट ट्रेसिङ काठमाडौं उपत्यकामा मात्रै गरिन लागेको पोखरेलले उल्लेख गर्नुभएको छ ।