काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी बनाएकोबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले आज निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्ने भएको छ ।
आज बस्ने समितिको बैठकमा निवर्तमान अर्थमन्त्री शर्मालाई बोलाइएको समिति सदस्य विमला विकले जानकारी दिनुभएको छ । हिजो बसेको समितिको बैठकले सिसिटिभी फुटेज डिलिट भएको भए रिकभर गर्न सकिन्छ त ? भनेर विज्ञहरूको राय लिएको थियो ।
निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले डिलिट भएको सिसिटिभी फुटेज रिकभरको लागि प्रक्रिया अघि बढाएको छ ।
नेपाल प्रहरीको साइबर ब्युरो र नेपाल इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञले सफ्टवेयरको व्यवस्था गरे रिकभर हुनसक्ने सुझाव दिएपछि समितिले सीसीटीभीको हार्डडिस्क नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको छ ।
जेठ १४ र १५ गतेको सिसिटिभी फुटेज मन्त्रालयले नदिएपछि रिकभरका लागि प्रक्रिया अघि बढाइएको समितिका सचिव सुरेन्द्र अर्यालले बताउनुभयो ।
समितिले जेठ महिनाको फुटेज मगाउँदा मन्त्रालयले असार महिनाको मात्र फुटेज दिएको थियो । यसअघि समितिले मन्त्रालयका कर्मचारीको बयान लिनुका साथै त्यहाँको अवलोकनसमेत गरिसकेको छ ।
चालू आर्थिक वर्षको बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको भन्दै चौतर्फी विरोध भएपछि २२ असारमा ११ सदस्यीय संसदीय समिति बनाइएको थियो। संसदीय छानबिन समिति बनेपछि शर्माले पदबाट राजीनामा दिनुभएको थियो ।
समितिलाई कार्य प्रारम्भ गरेको १० दिनभित्र प्रतिवेदन दिने कार्यादेश सभामुखले दिनुभएको छ । समितिले गत मंगलबारबाट मात्रै कार्य प्रारम्भ गरेको थियो । कार्यादेशअनुसार समितिले भोलि छानबिन सक्नुपर्नेछ । अब निचोड निकाल्नेतिर केन्द्रित हुने समिति सदस्यहरूले बताएका छन् ।